गुगलले एआई एजेन्टमार्फत किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यसहित नयाँ खुला मापदण्ड युनिभर्सल कमर्स प्रोटोकल (UCP) सार्वजनिक गरेको छ। अमेरिकामा आयोजित नेशनल रिटेल फेडेरेसन (एनआरएफ) सम्मेलनमा यो प्रोटोकल सार्वजनिक गरिएको हो।
गुगलका अनुसार सपिफाई, Etsy, Wayfair, टार्गेट र वालमार्ट जस्ता प्रमुख कम्पनीहरूसँग मिलेर विकास गरिएको युसीपीले एआई एजेन्टलाई ग्राहकको किनमेल प्रक्रियाका विभिन्न चरण—उत्पादन खोजदेखि खरिदपछिको सहयोगसम्म—एकीकृत रूपमा काम गर्न सक्षम बनाउनेछ।
फरक–फरक एजेन्ट वा प्रणालीसँग अलग–अलग जडान गर्नुपर्ने झन्झट हटाउने यस प्रोटोकलको मुख्य उद्देश्य रहेको गुगलले जनाएको छ।
गुगलले युसीपी अन्य एजेन्टिक प्रोटोकलहरूसँग पनि मिलेर काम गर्ने स्पष्ट पारेको छ। यसमा गत वर्ष घोषणा गरिएको एजेन्ट पेमेन्ट प्रोटोकल (AP2), एजेन्टटुएजेन्ट (A2A) तथा मोडेल कन्टेक्स्ट प्रोटोकल (MCP) समावेश छन्। कम्पनीका अनुसार एजेन्ट र व्यवसायहरूले आफ्ना आवश्यकताअनुसार प्रोटोकलका विभिन्न एक्सटेन्सनहरू छनोट गरेर प्रयोग गर्न सक्नेछन्।
गुगलले चाँडै नै अमेरिका–आधारित खुद्रा व्यवसायका लागि एआई मोडमा हुने सर्च र जेमिनाइ एप्समा युसीपी प्रयोग गर्ने जनाएको छ। यसमार्फत प्रयोगकर्ताले कुनै उत्पादनबारे जानकारी खोज्दाकै क्रममा सिधै किनमेल गर्न सक्नेछन्। भुक्तानीका लागि गूगल प्रयोग गर्न सकिनेछ भने गूगल वालेटमा सुरक्षित गरिएको डेलिभरी जानकारी स्वतः प्रयोग हुनेछ। आगामी दिनमा पेपाललाई पनि भुक्तानी विकल्पका रूपमा समर्थन गर्ने गुगलको योजना छ।
सपिफाईका सीईओ तथा संस्थापक टोबी लुट्केले एआई एजेन्टमार्फत हुने किनमेललाई अत्यन्त उत्साहजनक विकास भनेका छन्। “एआईले मानिसको रुचि बुझेर उसलाई उपयुक्त उत्पादनसम्म पुर्याउन सक्छ। कतिपय अवस्थामा मैले खोज्दै नखोजेको उत्पादन पनि एआईले भेटाइदिन्छ, यही नै कमर्सको सबैभन्दा रोचक पक्ष हो,” उनले भने।
यसै दिन सपिफाइले माइक्रोसफ्ट कोपाइलटसँग पनि यस्तै किसिमको किनमेल एकीकरण सार्वजनिक गरेको छ, जसबाट प्रयोगकर्ताले संवादकै क्रममा सजिलै चेकआउट गर्न सक्नेछन्।
एआई सर्चमै छुट अफर
गुगलले उपभोक्तामैत्री अर्को फिचर पनि सार्वजनिक गरेको छ। अब ब्रान्डहरूले एआई मोड प्रयोग गरेर उत्पादन सिफारिस खोजिरहेका प्रयोगकर्तालाई त्यही क्षण विशेष छुट अफर गर्न सक्नेछन्। उदाहरणका लागि, प्रयोगकर्ताले “धेरै प्रयोग हुने डाइनिङ रुमका लागि सफा गर्न सजिलो आधुनिक गलैंचा खोज्दै छु” जस्तो खोज गरेमा सम्बन्धित ब्रान्डले तत्काल छुट प्रस्ताव गर्न सक्ने व्यवस्था मिलाइनेछ।
यसका साथै गुगलले मर्चेन्ट सेन्टर भित्र नयाँ डाटा एट्रिब्युट थप गरेको छ, जसले व्यापारीलाई एआई सर्चमा आफ्ना उत्पादन अझ राम्रोसँग प्रस्तुत गर्न मद्दत गर्नेछ। पेपाल र ओपन एआई जस्ता कम्पनीहरू पनि एआई च्याटबोटमार्फत व्यापारीका उत्पादनहरू सजिलै भेटिने व्यवस्था विकास गरिरहेका छन्।
ब्रान्डेड एआई बिजनेस एजेन्ट
गुगलले अब व्यापारीलाई एआई–सञ्चालित ब्रान्डेड बिजनेस एजेन्ट सिधै गूगल सर्चमा एकीकृत गर्न दिने घोषणा पनि गरेको छ। यस एजेन्टले ग्राहकका प्रश्नको जवाफ दिनेछ। Lowe’s, Michael’s, Poshmark र Reebok जस्ता ब्रान्डहरूले यो सुविधा प्रयोग गरिसकेका छन्। यस्तै एआई–आधारित ग्राहक सहयोग समाधानमा मेटा र सपिफाई पनि सक्रिय रूपमा काम गरिरहेका छन्।
यसै क्रममा गुगलले जेमिनाइ इन्टरप्राइज फर कस्टुमर एक्सपेरियन्स (CX) पनि सार्वजनिक गरेको छ, जसले खुद्रा र रेस्टुरेन्ट व्यवसायका लागि किनमेल तथा ग्राहक सेवा व्यवस्थापनमा एआई प्रयोग गर्न सहयोग पुर्याउनेछ।
गुगल, अमेजन, वालमार्ट र ओपन एआई जस्ता प्रविधि कम्पनीहरू उपभोक्ता र व्यापारी दुवै पक्षमा एआई समावेश गर्ने नयाँ मापदण्ड र प्रडक्ट सार्वजनिक गरिरहेका छन्।
यसै महिनाको सुरुवातमा एडोबीले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, जेनेरेटिभ एआईमार्फत विक्रेता वेबसाइटमा जाने ट्राफिक बिदा सिजनमा ६९३.४ प्रतिशतले वृद्धि भएको थियो, यद्यपि त्यसले कति बिक्रीमा रूपान्तरण गर्यो भन्ने स्पष्ट गरिएको छैन।
आईसीटी समाचार