टेक उद्योगमा आफ्नो क्यामरा र क्लिन सफ्टवेयर अनुभवका लागि परिचित गूगलले नयाँ स्मार्टफोन गूगल पिक्सेल १० ए सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार राति उक्त मोडेललाई औपचारिक रूपमा प्रस्तुत गर्दै यसलाई ‘ए–सीरीज़’कै सबैभन्दा शक्तिशाली र लामो समयसम्म चल्ने डिभाइस भएको दाबी गरेको छ।
कम्पनीका अनुसार पिक्सल १० एमा फ्ल्यागशिप स्तरको टेन्सर जी४ प्रोसेसर समावेश गरिएको छ, जुन यसअघि पिक्सेल नाइन प्रो सीरीज़मा प्रयोग गरिएको थियो। साथै, फोनमा टाइटान एम २ सेक्युरिटी चिप राखिएको छ, जसले पासवर्ड, बायोमेट्रिक डाटा र अन्य व्यक्तिगत जानकारीलाई हार्डवेयर–स्तरमै सुरक्षित राख्ने बताइएको छ। कम्पनीले यस मोडेलमा ७ वर्षसम्म अपरेटिङ सिस्टम (ओएस) र सुरक्षा अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
डिस्प्लेतर्फ, पिक्सल १० एमा ६.३–इन्चको एक्टुआ ओएलईडी प्यानल दिइएको छ, जसले १२० हर्ट्ज रिफ्रेस रेट समर्थन गर्छ। कम्पनीका अनुसार यो ए–सीरीज़कै सबैभन्दा चम्किलो स्क्रिन हो, जसमा ३,००० निट्स पिक ब्राइटनेस उपलब्ध छ। स्क्रिन सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास ७ प्रयोग गरिएको छ।
क्यामरा प्रणालीमा ४८ मेगापिक्सलको मुख्य (वाइड) सेन्सर र १३ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स समावेश गरिएको छ। मुख्य क्यामरामा अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) सुविधा उपलब्ध छ। फोनले ८एक्स सुपर रेज जुम समर्थन गर्छ, जसले टेलिफोटो लेन्सबिनै टाढाका वस्तुहरूलाई नजिक ल्याउन सक्ने कम्पनीको दाबी छ। फ्रन्टमा १३ मेगापिक्सलको सेल्फी क्यामरा दिइएको छ। रियर क्यामराले ६० एफपीएसमा र फ्रन्ट क्यामराले ३० एफपीएसमा ४के भिडियो रेकर्ड गर्न सक्छ।
एआई–आधारित फिचरहरूमा क्यामेरा कोच, म्याजिक इरेजर, बेस्ट टेक र एड मी समावेश छन्, जसले तस्बिर सम्पादन र खिचाइ अनुभवलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ।
कम्पनीले पिक्सल १० एलाई प्रिमियम फिचरहरू किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यले ल्याएको जनाएको छ। यसको मूल्य र उपलब्धताबारे विस्तृत जानकारी भने अलग रूपमा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।
आईसीटी समाचार