गुगल थ्रेट इंटेलिजेन्स ग्रुप र उनका सहयोगी संगठनहरूले भर्खरै एउटा ठूलो साइबर नेटवर्क समाप्त गरेको घोषणा गरेका छन्। कम्पनीका अनुसार आईपीआईडिया(IPIDEA) नामको यस नेटवर्क लामो समयदेखि गोप्य तरिकाले सञ्चालन भईरहेको थियो र साइबर अपराधीहरूलाई इन्टरनेट गतिविधिहरू लुकाउन मद्दत गरिरहेको थियो।
गुगलले जनाएको अनुसार, यस नेटवर्कले एन्ड्रोइड स्मार्टफोन र विन्डोज कम्प्युटरहरूलाई प्रयोगकर्ताका जानकारीविना इन्टरनेट प्रोक्सीमा परिणत गरिदिन्थ्यो। यसबाट ह्याकरहरूले ती डिभाइसहरूको घरेलु इन्टरनेट कनेक्शन प्रयोग गरी आफ्नो वास्तविक पहिचान लुकाउन सक्छथे।
रेजिडेन्सियल प्रोक्सी नेटवर्क एउटा गैरकानुनी र अनैतिक प्रविधि हो, जसमा इन्टरनेट ट्राफिकलाई कुनै व्यक्तिको डिभाइसबाट पठाइन्छ ताकि वास्तविक स्रोत लुकाउन सकियोस्। यसमा साधारण प्रयोगकर्ताका डिभाइसहरू प्रयोग गरिन्छ, जसले गर्दा गतिविधि सामान्य प्रयोगकर्ताजस्तै देखिन्छ।
यस्ता नेटवर्क प्राय: पासवर्ड चोरी, अकाउन्ट ह्याकिङ, डाटा स्क्र्यापिङ र अन्य अनलाइन ठगीका लागि प्रयोग गरिन्छ। किनकि ट्राफिक सामान्य घर वा मोबाइल नेटवर्कबाट आएको देखिन्छ, सुरक्षा प्रणालीहरूले यसलाई चिन्ने कठिनाइ हुन्छ।
गुगलका अनुसार, यो नेटवर्क धेरै खतरनाक एन्ड्रोइड एप्स र विन्डोज प्रोक्सी सफ्टवेयरमार्फत फैलाइएको थियो। यी एप्स आधिकारिक एप स्टोर बाहिर र थर्ड पार्टी प्लेटफर्ममा उपलब्ध थिए।
यी एप्सले ब्याकग्राउन्डमा लगातार काम गर्थे र प्रयोगकर्तालाई यसको थाहा हुँदैनथ्यो। धेरै अवस्थामा ब्याट्री वा डाटा प्रयोगमा ठूलो परिवर्तन देखिंदैनथ्यो, जसले गर्दा प्रयोगकर्ताहरूले शंका गर्दैनथे।
गुगल थ्रेट इंटेलिजेन्स ग्रुप र उसका साझेदारहरूले यस नेटवर्कका कमाण्ड एन्ड कन्ट्रोल सर्भरहरू पहिचान गरी बन्द गराए। यसको लागि इन्फ्रास्ट्रक्चर प्रोभाइडरहरू र डोमेन रजिस्टारसँग मिलेर ती सर्भर र डोमेन्स बन्द गरिएका थिए जसले संक्रमित डिभाइसहरूलाई निर्देशन पठाउँथे।
गुगलले जनाएको छ कि कम्पनीको सुरक्षा प्रणालीलाई अब अपडेट गरिएको छ, जसले भविष्यमा यस्ता नेटवर्कलाई छिटो पहिचान गर्न मद्दत गर्नेछ।
गुगलले मोबाइल प्लेटफर्म, इन्टरनेट सेवा प्रदायकहरू र टेक कम्पनीहरूलाई आग्रह गरेको छ कि यस्ता गैरकानुनी प्रोक्सी नेटवर्क रोक्नका लागि आपसमा जानकारी साझा गरुन् र सुरक्षा उपायहरू सुदृढ गरुन्।
आईसीटी समाचार