काठमाडौं । गुगलले आइफोनबाट एन्ड्रोइडमा डाटा स्थानान्तरण गर्ने प्रक्रियालाई थप सरल र सहज बनाउने नयाँ प्रणाली सार्वजनिक गरेको छ । एन्ड्रोइड १७ मा समावेश गरिएको नयाँ माइग्रेसन सिस्टममार्फत अब प्रयोगकर्ताले कुनै अतिरिक्त एप डाउनलोड नगरीकनै आइफोनका विभिन्न डाटा वायरलेस रूपमा एन्ड्रोइड फोनमा सार्न सक्नेछन् ।
नयाँ सुविधाले आइफोनबाट एन्ड्रोइडमा सर्ने प्रयोगकर्तालाई फोटो, भिडियो, कन्ट्याक्ट, सन्देश (Messages), क्यालेन्डर, गुगल अकाउन्ट, सेभ गरिएका पासवर्ड, वाइफाई विवरण (Wi-Fi Credentials) तथा eSIM सम्बन्धी जानकारी स्थानान्तरण गर्न सहज बनाउने गुगलले जनाएको छ ।
यसअघि केही डाटा सार्न छुट्टै एप वा अतिरिक्त सेटअप आवश्यक पर्ने अवस्था रहेकामा अब नयाँ माइग्रेसन सिस्टम सिधै एन्ड्रोइड १७ मा समावेश गरिएको छ । यसले डाटा स्थानान्तरण प्रक्रियालाई छिटो, सुरक्षित र प्रयोगकर्तामैत्री बनाउने अपेक्षा गरिएको छ ।
गुगलका अनुसार यो कदमले आइफोन प्रयोगकर्तालाई एन्ड्रोइड इकोसिस्टममा सहज रूपमा स्थानान्तरण गर्न सहयोग पुर्याउनेछ । यो सुविधा हाल छनोट गरिएका पिक्सेल (Pixel) स्मार्टफोनमा उपलब्ध हुन थालेको छ । कम्पनीले आगामी दिनमा अन्य एन्ड्रोइड स्मार्टफोनमा पनि यो सुविधा विस्तार गरिने जनाएको छ ।
आईसीटी समाचार