गुगल पहिलो पटक गम्भीर चुनौती प्राप्त भएको छ। थर्ड ब्रिजका एनालिस्ट स्कट केसलरका अनुसार, गुगलको ग्लोबल सर्च मार्केट सेयर १० वर्षमा पहिलो पटक ९० प्रतिशतभन्दा तल झरेको हो। यसको मुख्य कारण ओपनएआईको च्याटजीपीटी हो, जसलाई अब मानिसहरू गुगलको सट्टा द्रुत गतिमा प्रयोग गर्न थालेका छन्।
विशेषज्ञहरू भन्छन् कि च्याटजीपीटीले अहिले गुगलको डेली सर्च भल्यूमको १५–२०प्रतिशत सम्हालिरहेको छ। न्यूयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ कि च्याटजीपीटी माइक्रोसफ्टको बिङ्भन्दा पनि ठूलो चुनौती बनेको छ।
मान्छेहरूलाई च्याटजीपीटी किन बढी मन परेको हो भने, रिपोर्टहरूका अनुसार यसको सटीक र बिना विज्ञापनको जानकारीले प्रभाव पारिरहेको छ। मानिसहरू अफिसको काममा सहयोग लिनदेखि छुट्टी योजना तयार पार्नसम्म च्याटजीपीटी प्रयोग गरिरहेका छन्। यसबाहेक, यो टुल्स कोडिङ, कन्टेन्ट तयार पार्ने, तस्वीर र ग्राफिक बनाउनसमेत विभिन्न कामहरूमा दक्ष छ।
गुगलले पनि यस चुनौतीको जवाफस्वरूप ‘एआई मोड’ ल्याएको छ, जुन अब सर्च इञ्जिनमा च्याटबटझैं काम गर्छ र सर्चको विस्तृत जानकारी दिन्छ। गुगलका अनुसार, एआई मोड अहिले १०० मिलियन युजर्सले प्रयोग गरिरहेका छन्।
भविष्यप्रति संशय भने चरमै छ। यस वर्षको सुरुमै गुगलको सेयर २५ प्रतिशतसम्म घटेको थियो, किनकि सर्चबाट आउने आम्दानी जोखिममा परेको थियो। कम्पनीको आधाभन्दा बढी आम्दानी र ७५ प्रतिशत नाफा सर्चबाट नै आउँछ। एआई टुल्सका कारण साधारण सर्च गुगलको सट्टा च्याटजीपीटीजस्ता विकल्पतर्फ सरेको छ।
गुगल पहिले नै दुई एन्टिट्रस्ट ट्रायल्सको सामना गरिरहेको छ, जसमा यसलाई सर्च मोनोपोली मानिएको छ। अमेरिकी सरकारले गुगललाई तोड्न आवश्यक हुनसक्ने पनि भनेको छ।