गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ अडियो तथा भ्वाइस मोडेल जेमिनी ३.१ फ्ल्यास लाइभ सार्वजनिक गरेको छ। यो गुगलको अहिलेसम्मकै सबैभन्दा उच्च गुणस्तरको अडियो मोडेल भएको कम्पनीले जनाएको छ।
यो मोडेलमार्फत मानिसहरूबीच हुने कुराकानीझैँ प्राकृतिक लय र गतिमा संवाद गर्न सकिन्छ। गुगलका अनुसार जेमिनी ३.१ फ्ल्यास लाइभले आवाजको उतारचढाव र गतिलाई अझ सूक्ष्म रूपमा बुझ्न सक्छ। पुरानो संस्करणको तुलनामा यो मोडेल निकै छिटो छ र लामो समयसम्मको संवादलाई अविच्छिन्न रूपमा पछ्याउन सक्छ। जटिल परीक्षणहरूमा पनि यसले प्राविधिक रूपमा उत्कृष्ट नतिजा दिएको छ।
कम्प्लेक्सफन्सबेन्च अडियो परीक्षणमा यसले ९०.८ प्रतिशत अंक प्राप्त गरेको छ। त्यसैगरी, जटिल कार्य र फङ्सन कलिङका लागि अत्यन्त भरपर्दो रहेको प्रमाणित गर्दै, इस्केल आर्टिफिसियल इन्टेलिजेन्सको अडियो मल्टी च्यालेन्जमा पनि यसले ३६.९ प्रतिशत स्कोरसहित अग्रस्थान कायम गरेको छ। गुगलका अनुसार यो मोडेल ९० भन्दा बढी भाषामा उपलब्ध छ।
एआई सामग्रीबाट सिर्जित हुने भ्रम र गलत सूचना रोक्न गुगलले विशेष सतर्कता अपनाएको छ। जेमिनी ३.१ फ्ल्यास लाइभबाट उत्पादन हुने सबै अडियोमा सिन्थआइडी नामक वाटरमार्क प्रयोग गरिएको छ। यो वाटरमार्क मानिसको कानले नसुन्ने गरी अडियोमै समावेश गरिएको हुन्छ, जसले कुनै अडियो एआईले बनाएको हो कि होइन भनेर सजिलै पहिचान गर्न मद्दत गर्छ।
यो मोडेलको सहयोगमा गुगलले आफ्नो सर्च लाइभ फिचरलाई विश्वका २०० भन्दा बढी देश र क्षेत्रमा विस्तार गरेको छ। जुलाई २०२५ मा अमेरिका र भारतबाट सुरु भएको यो सेवा अब एआई मोड उपलब्ध भएका सबै स्थान र भाषामा प्रयोग गर्न सकिने भएको छ।
प्रयोगकर्ताले सर्च लाइभमार्फत आफ्नो फोनको क्यामेरा कुनै वस्तुतर्फ सोझ्याएर त्यसबारे तत्काल गुगलसँग कुराकानी गर्न सक्छन्। एन्ड्रोइड र आईओएस दुवैमा गुगल एपभित्र रहेको लाइभ आइकन थिचेर वा गुगल लेन्समार्फत यो फिचर प्रयोग गर्न सकिन्छ।
गुगलले लाइभ ट्रान्सलेट सुविधालाई पनि परिष्कृत गरेको छ। अब आईओएस प्रयोगकर्ताले पनि आफ्नो हेडफोनमा रियल टाइम अनुवाद सुन्न सक्नेछन्। यो फिचर विभिन्न देशमा विस्तार गरिएको छ र ७० भन्दा बढी भाषालाई समर्थन गर्छ। यसले वक्ताको बोल्ने शैली र आवाजको लयलाई जस्ताको तस्तै राखेर अनुवाद गर्छ। यस प्रविधिबाट विदेशी चलचित्र हेर्न वा अरू भाषा बोल्ने व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्न सहज हुने बताइएको छ।
गुगलका अनुसार यो नयाँ प्रविधि हाल विभिन्न तहमा उपलब्ध छ। भेरिजोन, लाइभकिट र द होम डिपो जस्ता ठूला कम्पनीहरूले पनि यसको प्रयोगबाट ग्राहकसँगको संवाद अझ सहज र प्राकृतिक भएको प्रतिक्रिया दिएका छन्।
गुगल सर्च लाइभ कसरी प्रयोग गर्ने?
गुगल एपबाट यो फिचर प्रयोग गर्न सबैभन्दा पहिले गुगल एप खोल्नुहोस्। त्यसपछि एपको सर्च बारमुनि वा आर्टिफिसियल इन्टेलिजेन्स मोड बटनको छेउमा रहेको लाइभ आइकनमा ट्याप गर्नुहोस्।
यदि तपाईंले पहिलेदेखि नै गुगल लेन्स प्रयोग गर्दै आउनुभएको छ भने स्क्रिनको तलतिर ट्रान्सलेटपछि देखिने लाइभ ट्याबमा ट्याप गरेर यो फिचर सक्रिय गर्न सक्नुहुन्छ। फिचर सुरु भएपछि तपाईंले कुनै पनि विषयमा आवाजमार्फत प्रश्न सोध्न सक्नुहुन्छ र गुगलबाट तत्काल अडियो जवाफ प्राप्त गर्न सक्नुहुन्छ।
आईसीटी समाचार