गुगलले एप्पलको एयरड्रप प्रणालीसँग मिल्ने दुईतर्फी फाइल आदान–प्रदान सुविधालाई सन् २०२६ देखि थप एन्ड्रोइड उपकरणमा विस्तार गर्ने घोषणा गरेको छ। हाल पिक्सेल १० सिरिजका स्मार्टफोनमा मात्र उपलब्ध यो सुविधा आगामी दिनमा अन्य एन्ड्रोइड उपकरणमा पनि लागू गरिने भएको हो।
ताइवानको ताइपेइस्थित गुगल कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा एन्ड्रोइड इन्जिनियरिङका उपाध्यक्ष एरिक केले एयरड्रप अन्तरक्रियात्मकता (इन्टरअपरेबिलिटी) विस्तार हुने पुष्टि गरेका हुन्। उनका अनुसार यो प्रणाली आइफोन मात्र होइन, आइप्याड र म्याकबुकसँग समेत पूर्ण रूपमा मिल्ने गरी विकास गरिएको छ। “अब यो प्रविधि सफलतापूर्वक परीक्षण भइसकेपछि हामी साझेदारहरूसँग मिलेर सम्पूर्ण इकोसिस्टममा विस्तार गर्दैछौँ,” उनले भने।
हाल पिक्सेल १० प्रयोगकर्ताले गुगलको ‘क्विक सेयर’ प्रयोग गरेर एप्पलका उपकरणसँग फाइल तथा तस्बिर आदान–प्रदान गर्न सक्छन्। आइफोनबाट एन्ड्रोइडमा फाइल लिन ‘क्विक सेयर’ को दृश्यता १० मिनेटका लागि सबैका लागि खुला राख्नुपर्ने हुन्छ। त्यस्तै, एन्ड्रोइडबाट आइफोन, आइप्याड वा म्याकमा फाइल पठाउन एप्पलको ‘एयरड्रप’ पनि सोही अवधिका लागि खुला गर्नुपर्ने व्यवस्था छ।
यो सुविधा सार्वजनिक हुँदा एप्पलको संलग्नता स्पष्ट नहुँदा भविष्यमा बन्द हुन सक्ने आशंका गरिएको थियो। तर हालसम्म यस्तो कुनै अवरोध देखिएको छैन। गत नोभेम्बरमा चिप निर्माता कम्पनी क्वालकमले स्न्यापड्रागन चिप प्रयोग भएका उपकरणले पनि आइफोनसँग क्विक सेयरमार्फत फाइल आदान–प्रदान गर्न सक्ने जानकारी दिएको थियो। यसले यो सुविधा पिक्सेलमा मात्र सीमित नरहने संकेत गरेको छ।
विश्लेषकहरूका अनुसार गुगलको यो कदम आइफोन प्रयोगकर्तालाई एन्ड्रोइडमा सजिलै सर्न प्रोत्साहित गर्ने रणनीतिका रूपमा हेरिएको छ। गुगलले उपकरण परिवर्तन गर्दा डाटा सार्ने प्रक्रिया सरल बनाउन दीर्घकालीन रूपमा काम गरिरहेको जनाएको छ।
यसैबीच, गत डिसेम्बरमा एप्पल र गुगल संयुक्त रूपमा नयाँ सरल डाटा ट्रान्सफर प्रणालीमा काम गरिरहेको खुलासा भएको थियो। दुवै कम्पनीका आफ्नै प्रणाली भए पनि, अपरेटिङ सिस्टम स्तरमै काम गर्ने साझा समाधान विकास हुँदै गएको बताइएको छ।
त्यसैगरी, हालै एप्पल र गुगलले संयुक्त विज्ञप्ति जारी गर्दै सिरीको नयाँ संस्करणमा गुगलको जेमिनी एआई मोडल प्रयोग हुने पुष्टि गरेका छन्। यसले आइफोनमा गुगल प्रविधिमा आधारित भ्वाइस असिस्टेन्ट प्रयोग हुने नयाँ अध्याय सुरु गरेको छ।
आईसीटी समाचार