काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर (एसडीओसी) ले विभिन्न पदमा ४२ जना सूचना प्रविधिसम्बन्धी विज्ञ तथा कर्मचारी माग गरेको छ । सिंहदरबार, काठमाडौंस्थित केन्द्रले सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली विशेषज्ञबाट आवेदन माग गरेको हो ।
केन्द्रले २०८३ असोज २९ गते प्रकाशित सूचनाअनुसार प्रमुख प्रविधि विज्ञदेखि टेक सपोर्टसम्मका १५ प्रकारका पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्य उम्मेदवारले २०८३ कात्तिक १८ गतेभित्र केन्द्रको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।
माग गरिएका पदमध्ये प्रमुख प्रविधि विज्ञ एक जनाका लागि मासिक दुई लाख ५० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ । उक्त पदका लागि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै, प्रोजेक्ट म्यानेजरका दुई पदमा मासिक दुई लाख रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ । यस पदका लागि पनि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातकोत्तर तहको योग्यता आवश्यक छ ।
केन्द्रले प्रोजेक्ट एन्ड बिजनेस एनालिसिस, सफ्टवेयर इन्जिनियरिङ, क्वालिटी एनालिसिस तथा इन्फ्रास्ट्रक्चर एन्ड अपरेसन्स क्षेत्रका प्रमुखका लागि एक–एक जना माग गरेको छ । यी पदमा मासिक दुई लाख रुपैयाँ पारिश्रमिक तोकिएको छ । सम्बन्धित पदका लागि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
त्यसैगरी, सिस्टम एनालिस्टका चार पदका लागि मासिक एक लाख ६० हजार रुपैयाँ, सिनियर डेभलपरका तीन पद तथा सिस्टम, नेटवर्क र डेटाबेस एडमिनिस्ट्रेटरका दुई पदका लागि मासिक एक लाख ४० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ । यी पदमा आवेदन दिन पनि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
मध्यम तहका डेभलपरका लागि सबैभन्दा बढी १५ पद छुट्याइएको छ। उक्त पदमा मासिक एक लाख २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइनेछ। यस्तै, साइबर सुरक्षा विज्ञका दुई पदमा मासिक एक लाख १० हजार रुपैयाँ, क्वालिटी एनालिस्टका दुई पद र यूआई/यूएक्स डिजाइनरका दुई पदमा मासिक ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।
जुनियर डेभलपरका तीन पदमा मासिक ४५ हजार रुपैयाँ तथा टेक सपोर्टका दुई पदमा मासिक ४० हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराइने सूचनामा उल्लेख छ । यी पदका लागि पनि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातक तह उत्तीर्ण गरेको योग्यता तोकिएको छ ।
छनोट प्रक्रियाअन्तर्गत प्रमुख प्रविधि विज्ञ, प्रोजेक्ट म्यानेजर तथा विभिन्न क्षेत्रका प्रमुख पदका उम्मेदवारको शैक्षिक योग्यता र अनुभव मूल्यांकन, प्रस्तुतीकरण तथा अन्तर्वार्तामार्फत छनोट गरिनेछ । सिस्टम एनालिस्टदेखि टेक सपोर्टसम्मका पदका लागि भने शैक्षिक योग्यता र अनुभवको मूल्यांकनसँगै प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता लिइनेछ ।
आवेदनका लागि उम्मेदवारले अद्यावधिक व्यक्तिगत विवरण (सीभी), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र तथा सम्बन्धित कार्यअनुभवका प्रमाणपत्र पेस गर्नुपर्नेछ । इच्छुक उम्मेदवारले केन्द्रको आधिकारिक वेबसाइट www.sdoc.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
आईसीटी समाचार