कीवर्डहरू -

भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस्

भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस्

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न आग्रह गरेको छ । सूचीकरण भएका सामाजिक सञ्जाल सरकारले नेपालमा बन्द गरेसँगै अहिले भीपीएन र डीएनएस प्रयोग बढको छ । अधिकांशले भीपीएनबाटै सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । 

‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोवाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरुको पहुँच निषेध भैसकेको हुँदा त्यस्ता सञ्जालहरुको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न नगराउन समेत अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यस्तै सञ्चार मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबैलाई पुनः आह्वान गरेको छ ।

सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सकिय गराइने बताइएको छ । मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भई सक्रिय गराइसकेको जनाएको छ ।

मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।