सरकारी वेबसाइटहरू चल्न थालेका छन् । जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा तोडफोड र आगजनी भएपछि सरकारी वेबसाइटहरू बन्द भएका थिए ।
प्रदर्शनका क्रममा अप्टिकल फाइबर लगायत कनेक्टिभिटीमा तोडफोड र आगजनी हुँदा बन्द भएका सरकारी वेबसाइटहरू क्रमशः चल्न थालेको एकीकृत डेटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले जानकारी दिए ।
‘काठमाडौंको मुख्य डेटा सेन्टर र हेटौडाको डिजास्टर रिकभरी सेन्टर सुरक्षित रहेका छन् । तर अप्टिकल फाइबर लगायत कनेक्टिभिटीका तारहरू जले,’ उनले आइसिटी समाचारसँघ भने, ‘जसले गर्दा सर्भरहरू अन भएपनि बाहिरबाट एक्सेस हुन नसक्दा सेवा प्रवाह समस्सा देखिएको हुन सक्छ । क्रमशः सुधार हुँदै गइरहेको छ ।’
सरकारी निकायहरू प्रणालीहरू सञ्चालनमा ल्याउन एकीकृत डेटा व्यवस्थापन केन्द्रले सहयोग गरिरहेको छ । ‘सम्बन्धित निकायले आफ्नो प्रणाली सञ्चालन ल्याउन प्राविधिक सहयोग मागिरहनु भएको छ । हामीले दिइरहेका छौं । हिजो मात्रै प्रधानमन्त्री कार्यालयमा सहयोग दिएका थियौं । गर्न सक्ने सहयोग गरिरहेका छौं,’ भट्टराईले भने ।
जेनजी प्रदर्शनका क्रममा देशको प्रशासनीक केन्द्र सिंहदरबारमा समेत आगो लगाइएको थियो । तर त्यही रहेको सरकारी डेटा सेन्टर भने सुरक्षित रहेको छ ।