कीवर्डहरू -

आईटी क्षेत्रलाई विश्व बजारतर्फ ‘पखेटा फैलाउन’ गभर्नर पौडेलको आग्रह, ‘नेपालबाटै संसार जित्न सकिन्छ’

आईटी क्षेत्रलाई विश्व बजारतर्फ ‘पखेटा फैलाउन’ गभर्नर पौडेलको आग्रह, ‘नेपालबाटै संसार जित्न सकिन्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पछिल्ला वर्षहरूमा नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै अब ढुक्क भएर विश्व बजारतर्फ पखेटा फैलाउन आग्रह गरेका छन्।

कानुनी सुधारमार्फत आईटी उद्योगलाई सहजीकरण गरिँदै आएको जानकारी दिँदै गभर्नर पौडेलले युवाहरूलाई नयाँ प्रोडक्ट विकास गर्न र अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्न प्रोत्साहन गरेका हुन्।

‘अब ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस्, विश्व बजारमा आँखा लगाउनुहोस्। पखेटा फैलाउनुहोस्, मेहनत गर्नुहोस्। नेपालबाटै जित्न सकिने संसार छ। तपाईंहरूको विस्तारमा बैंकिङ क्षेत्रले सदैव साथ दिनेछ,’ उनले भने।

गभर्नर पौडेलका अनुसार अर्थमन्त्रालयले कम्पनी दर्ता प्रक्रिया सहज बनाउने, वैदेशिक प्रत्यक्ष लगानी (FDI) सम्बन्धी सीमा संशोधन गर्ने र कर संरचनालाई विश्वसनीय बनाउनेजस्ता सुधारहरू गरेको छ। ती सुधारहरूको आंशिक परिणामस्वरूप दुई वर्षअघि वैदेशिक लगानीमा करिब ४० वटा मात्रै आईटी कम्पनी खुलेको अवस्थामा एक वर्षअघि यो संख्या करिब ४०० पुगेको उनले बताए, जसलाई उनले सकारात्मक संकेतको रूपमा व्याख्या गरे।

नेपाल राष्ट्र बैंकले यी सुधारलाई थप अघि बढाउँदै नेपाली निर्यातकर्ता आईटी कम्पनीहरूलाई विदेशमा १० लाख अमेरिकी डलरसम्म लगानी गर्न अनुमति दिएको गभर्नर पौडेलले जानकारी दिए। त्यस्तै, हालसम्म निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार अमेरिकी डलरसम्म वैदेशिक लगानी गर्न दिने व्यवस्था गरिएको छ।

“नतिजा हेरेर यी सीमाहरूलाई क्रमशः संशोधन गर्दै लैजानेछौं,” उनले भने, “यस विषयमा सबैलाई विश्वास दिलाउन चाहन्छु।” वैदेशिक लगानीकर्ताहरूले धेरै कागजी प्रक्रिया (पेपरवर्क) गर्नुपरेको गुनासो गर्दै आएको सन्दर्भमा नाफा (डिभिडेन्ड) लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको पनि उनले स्पष्ट पारे।

२०२१ सालमा वैदेशिक लगानीमा प्रतिबन्ध लगाइएको पृष्ठभूमिमा हाल गरिएका यी पहलहरू हेर्दा सामान्य देखिए पनि यसको प्रभाव दीर्घकालीन र दूरगामी हुने गभर्नर पौडेलको भनाइ छ।

गभर्नर पौडेलको यस भनाइले नेपाली आईटी उद्यमी र स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न थप आत्मविश्वास मिल्ने अपेक्षा गरिएको छ। हालै मात्र तीनवटा नेपाली आईटी कम्पनीले विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति लिइसकेका छन्।

यो पनि पढ्नुहोस