कीवर्डहरू -

सवारीसाधनको रियल टाइम ट्रयाकिङ गर्ने प्रविधि ‘जियोमेट’

सवारीसाधनको रियल टाइम ट्रयाकिङ गर्ने प्रविधि ‘जियोमेट’

आफ्नो गाडी कता छ ? कहाँ आईपुग्यो ? कतै दुर्घटनामा त परेको छैन् ? कति भाडा उठ्यो ? दैनिक जसो गाडी धनीको मनमा उठ्ने प्रश्न हुन्, यी ।

यी प्रश्नहरू उठ्ने एकातिर छ, अर्कोतिर गाडीमा विभिन्न समस्या देखाएर चालक, सह-चालकले गाडी धनीसँग पैसा माग्ने र सबै नदिने जस्ता समस्या पनि छन् । 

यी सबै समस्यालाई स्याङ्जाका आतिष गैरेले सन् २०१४-१५ तिर नियालिरहेका थिए । यातायात क्षेत्रमा देखिएका यस्ता समस्यालाई प्रविधिमार्फत निराकरण गर्ने उनको योजना थियो । त्यो योजनामा उनले वृहत अध्ययन गर्न थाले । अनि समाधान निस्कियो जिपीएस सिस्टम हो, ‘जियोमेट’ । जियोमेट टेलिमेटिक्स टेक प्रालिले विकास गरेको सवारीसाधन ट्रयाकिङ गर्न मिल्ने र फ्लिट व्यवस्थापन गर्ने सिस्टम हो । 

सीए अध्ययन गरेका गैरेलाई प्रविधिमा सानैदेखि रूची थियो । आफैले देशमै केही गर्ने हुटहुटी र प्रविधिप्रतिको रूचीले उनलाई जियोमेटतर्फ डोर्‍याएको हो । आज जियोमेट धेरै सवारीधनीहरूलाई सहयोग पुर्‍याएको छ । 

सवारीसाधनको रियल टाइम ट्रयाकिङ गर्नका लागि जियोमेट विकास गरेको टेलिमेटिक्स टेकका सीईओ आतिष गैरेले बताए । ‘जियोमेटले सवारीसाधनको सम्पूर्ण गतिविधि नियाल्नुका साथै कुन लोकेशनमा आईपुग्यो, कति यात्रु छन् जस्ता सम्पूर्ण कुरा भिडियोमार्फत देखाइदिन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘यसका साथै, एक दिनमा कति कमाई भयो भन्ने कुरा पनि हेर्न मिल्छ, जसका कारण गाडी धनीले ड्राइभरमाथी गर्ने शंकाबाट पनि टाढा राख्छ ।’

करिब १० वर्ष अगाडि स्थापना भएको टेलिमेटिक्स टेकले विकास गरेको जीपीएस प्रविधि प्रविधि सुरूमा यातायात क्षेत्रको लागि भनेर मात्र विकास गरिएको थियो । तर यसको दायरा फराकिलो हुँदै गएपछि अहिले जियोमेट, यातायात क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत प्रयोग हुँदै आएको छ । 

सवारीसाधनले के गरिरहेको छ, कुन गतिमा दौडिरहेको छ, कति यात्रु बोकेको छ, कुन लोकेसनमा छ, एकदिनमा कति कमायो भन्ने जस्ता कुराको जानकारी जियोमेटबाटै पाइन्छ । यसका लागि सवारीसाधनमा जियोमेटको डिभाइस जडान गरिन्छ । त्यसपछि सवारीसाधनको जानकारी जियोमेटको सर्भरमा आइपुग्छ । अनि सवारीसाधनको सम्पूर्ण गतिविधि थाहा पाइन्छ ।

यति मात्रै होइन, सवारीसाधनको दुर्घटना भएको छ की छैन्, यदी भएको भए कसको गल्ती छ जस्ता कुरा पनि जियोमेटबाटै थाहा पाउन सकिन्छ । यसका लागि भिडियोमा आधारित ट्रयाकिङ सुविधा छ ।

जियोमेट डिभाइस हालसम्म ८ हजार बढी सवारीसाधनमा प्रयोग भइरहेको गैरे बताउँछन् । जियोमेट ३ हजार बढीले प्रयोग गरिरहेका छन्, जसबाट ८ हजार बढी सवारीसाधन निगरानी भइरहेका छन् ।

जियोमेटको शुल्क पनि धेरै महंगो छैन् । सस्तोमै जियोमेट प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले वर्षको ८ देखि ९ हजार रूपैयाँ हाराहारी शुल्क तिरेर जियोमेट प्रयोग गर्न सक्ने छन् । 

जियोमेट यहाँसम्म धेरै उतारचढावलाई छिचोल्दै आइपुगेको छ । १० वर्षे यात्रामा कम्पनी अनेकौ चुनौतीसँग लडेको छ । टेलिमेटिक्स टेक सुरू गर्दा वित्तीयदेखि अवयेरनेसम्म विभिन्न चुनौती भोग्नु परेको उनी बताउँछन् ।

‘सुरुवाती दिनमा फाइनान्सियल समस्या भएको थियो । त्यो त छदै छ, त्यो भन्दा पनि ठुलो समस्या मानिसलाई प्रविधिको बारेमा बुझाउन नै कठिन थियो,’ उनले आईसीटी समाचारसँग भने, ‘तर पनि अनेक चुनौतीसँग लड्दै मानिसलाई प्रविधि बारे बुझाउँदै यहाँसम्म आइपुगेका छौं ।’ 

दुई दाजुभाई मिलेर सुरू भएको कम्पनीमा आज धेरैले रोजगारी प्राप्त गरेका छन् । अहिले कम्पनीले नेपालका विभिन्न ठाउँहरुमा शाखा र डिलर समेत विस्तार गर्न सफल भएको छ भने सरकारी क्षेत्रमा पनि यसको प्रयोग बढ्न थालेको छ ।