लेखन सुधार गर्ने लोकप्रिय प्लेटफर्म ग्रामर्लीले हालै थपेको नयाँ फिचर ‘एक्सपर्ट रिभ्यु’ (Expert Review) ले प्रयोगकर्ताको लेखाइलाई विश्वका प्रसिद्ध लेखक, विचारक तथा पत्रकारको दृष्टिकोणबाट सुधार सुझाव दिने दाबी गरेको छ। तर यस फिचरले वास्तविक विज्ञहरू संलग्न नभएको भन्दै विवाद पनि उत्पन्न भएको छ।
यो फिचर सन् २०२५ अगस्टमा एआईमा आधारित नयाँ सुविधाहरूको भागका रूपमा सार्वजनिक गरिएको हो। ग्रामर्लीको मुख्य लेखन सहायकको साइडबारमा देखिने यो सुविधा प्रयोगकर्ताले आफ्नो लेखाइलाई विभिन्न विषयका विज्ञहरूको दृष्टिकोणबाट समीक्षा गरिएको जस्तो सुझाव प्राप्त गर्न प्रयोग गर्न सक्छन्।
प्रविधि मिडिया वायर्डका अनुसार ग्रामर्लीले यो सुझाव यस्तो शैलीमा प्रस्तुत गर्छ, जसले प्रसिद्ध लेखक वा चिन्तक—जीवित वा दिवंगतको विचारबाट आएको जस्तो देखिन्छ। त्यस्तै द भर्जको रिपोर्ट अनुसार कहिलेकाहीँ यो सुझाव प्रविधि पत्रकारहरू जस्तै कारा स्विसर, केसी न्यूटन वा एआई अनुसन्धानकर्ता टिमनिट गेब्रु जस्ता व्यक्तिहरूको शैलीमा आएको जस्तो पनि देखिन्छ।
साथै सुझावहरूमा ब्लुमबर्ग, द न्युयोर्क टाइम्स लगायतका मिडियामा लेख्ने पत्रकारहरूको दृष्टिकोण झल्किएको जस्तो सन्देश देखिन सक्ने बताइएको छ।
तर यी व्यक्तिहरू वास्तवमै उक्त फिचरसँग संलग्न छैनन्। ग्रामर्लीको मातृ कम्पनी सुपरह्युमनका उत्पादन तथा कर्पोरेट मार्केटिङ उपाध्यक्ष एलेक्स गेले द भर्जलाई दिएको जानकारीअनुसार ती विज्ञहरूको नाम उल्लेख गरिएको कारण उनीहरूको प्रकाशित सामग्री सार्वजनिक रूपमा उपलब्ध र व्यापक रूपमा उद्धृत हुने भएकाले मात्र हो।
ग्रामर्लीले आफ्नो प्रयोगकर्ता मार्गदर्शिकामा पनि स्पष्ट गर्दै ‘एक्सपर्ट रिभ्युमा उल्लेख गरिएका विशेषज्ञहरू केवल जानकारीका लागि सन्दर्भ हुन्, यसले उनीहरू ग्रामर्लीसँग सम्बद्ध छन् वा उनीहरूले समर्थन गरेका छन् भन्ने अर्थ लाग्दैन’ भनेको छ।
यद्यपि आलोचकहरूका अनुसार यस्तो प्रस्तुतीकरणले प्रयोगकर्तालाई वास्तविक विशेषज्ञको समीक्षा भएको जस्तो भ्रम दिन सक्छ। इतिहासकार सी. ई. औबिनले वायर्डसँग कुरा गर्दै भने, ‘यी वास्तवमा ‘एक्सपर्ट रिभ्यु’ होइनन्, किनकि यी तयार पार्न कुनै वास्तविक विशेषज्ञ संलग्न छैनन्।’
नयाँ एआई सुविधाहरूले लेखन सहयोगलाई अझ शक्तिशाली बनाइरहेको भए पनि, यसले प्रयोग गर्ने ‘विज्ञको नाम र प्रतिष्ठा’ को विषयमा पारदर्शिता र नैतिकताको बहस पनि तीव्र बनाएको छ।
आईसीटी समाचार