नेपालको सबैभन्दा लोकप्रिय सुपर एप हाम्रो पात्रोले डिजिटल सञ्चारलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउन नयाँ भिडियो कन्फरेन्सिङ सेवा ‘चौतारी मिट’ (Chautari Meet) सार्वजनिक गरेको छ। यस सेवामार्फत अब प्रयोगकर्ताहरूले कुनै अतिरिक्त एप डाउनलोड नगरी सिधै हाम्रो पात्रो एपभित्रैबाट उच्च गुणस्तरको भिडियो कन्फरेन्स सञ्चालन गर्न तथा सहभागी हुन सक्नेछन्।
एन्ड्रोइड (ANDROID) तथा आइओएस (iOS ) दुवै प्लेटफर्ममा प्रयोग गर्न सकिने ‘चौतारी मिट’ हाम्रो पात्रो एपको मेनु कार्ड तथा साइडबारमा उपलब्ध छ। प्रयोगकर्तामैत्री संरचनाका कारण बैठकको लिङ्क सेयर गरेपछि सहभागीहरू केवल एक क्लिकमा, कुनै झन्झटिलो लगइन प्रक्रिया बिना सिधै बैठकमा प्रवेश गर्न सक्छन्।अन्य प्लेटफर्ममा जस्तो समयको सीमा नराखिएकाले प्रयोगकर्ताहरूले असीमित समयसम्म छलफल गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
भिडियो कन्फरेन्सको सुरक्षा र व्यवस्थापनलाई प्राथमिकता दिँदै आयोजक (Host) ले सहभागीहरूलाई म्यूट गर्ने, भिडियो बन्द गर्ने वा हटाउने सुविधा उपलब्ध गराइएको छ। साथै, बैठकको क्रममा सन्देश आदानप्रदानका लागि इन-मिटिङ च्याट सुविधा समेत समावेश गरिएको छ।
डेस्कटप तथा ल्यापटप प्रयोगकर्ताका लागि ‘चौतारी मिट’ को वेब संस्करण chautari.hamropatro.com मा उपलब्ध रहेको कम्पनीले जनाएको छ। वेब संस्करणमा एपको तुलनामा थप विस्तारित तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त सुविधाहरू समावेश गरिएका छन्।
हाम्रो पात्रोका डायरेक्टर सुदिना गौतमले भन्नुभयो, “हामी ‘चौतारी मिट’लाई केवल भिडियो कन्फरेन्सिङ सेवामा सीमित राख्ने सोचमा छैनौँ। हाम्रो लक्ष्य नेपाली प्रयोगकर्तालाई सरल, सुरक्षित र भरपर्दो डिजिटल अनुभव प्रदान गर्नु हो। त्यसैले यसलाई अझ परिष्कृत र बहुउपयोगी बनाउँदै लैजाँदैछौँ।
प्रयोगकर्ताको सहजताका लागि चाँडै नै ‘Meeting Scheduling’, च्याटमा ‘Document Sharing’, मोबाइलबाटै कन्टेन्ट शेयर गर्ने सुविधा तथा फेसबुक र युट्युबमा सिधै ‘Live Streaming’ गर्ने व्यवस्था थपिनेछ। अफिसियल मिटिङ, अनलाइन कक्षा, तालिम तथा पारिवारिक भलाकुसारीका लागि ‘चौतारी मिट’लाई एक स्वदेशी र विश्वासिलो डिजिटल विकल्पका रूपमा विकास गरिएको हो।”
डिजिटल क्षेत्रमा नेपाली प्रयोगकर्तालाई स्वदेशी समाधान उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
आईसीटी समाचार