कीवर्डहरू -

अमेरिकामा हाम्रो पात्रो रेमिटको सेवा पुन: सुरू

अमेरिकामा हाम्रो पात्रो रेमिटको सेवा पुन: सुरू

मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलो, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।

विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको जनाएको छ । 

जसअनुसार  हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १ हजार अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५ हजार नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर १५० रूपैयाँको विशेष विनिमय दर प्राप्त गर्नेछन्।

हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतीले भने 'हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ। अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो ।'
 
प्रयोगकर्ताले पैसा पठाउनु अघि नै प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन् भन्ने थाहा पाउनेछन्  र जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउने कम्पनीको भनाइ छ ।  रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ भने नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिने कम्पनीको भनाइ छ ।  साथै,  प्रयोगकर्ताहरूलाई कुनैपनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै रहेको ग्राहक सेवा टोलीमा २४ घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ । 

हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियम अनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।