कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघ, सेन्टर फर साइबर सेक्युरिटी एण्ड रिसर्च (सीएसआरआई) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई साइबर सुरक्षा मजबुत पार्ने सम्बन्धित रोडम्याप हस्तान्तरण गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको रणनीतिक दस्तावेज वरिष्ठ उपाध्यक्ष तथा वन कभर प्रालिका सीईओ चिरञ्जीबी अधिकारीद्वारा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सूचना प्रविधि मन्त्रालयका विज्ञ डा. शालिग्राम पराजुली, सीएसआरआई नेपालका पदाधिकारीहरू, एनपी सर्ट र क्यान महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यस रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वासिलो बनाउने आधार तयार पार्ने बताइएको छ ।
रोडम्यापका मुख्य बुँदाहरूमा प्रमुख सूचना सुरक्षा अधिकारी (सीआईएसओ) अनिवार्य नियुक्ति, फिनसर्ट नेपालको स्थापना, एनपीसर्टसँग एकीकरण र साइबर शिक्षा तथा सचेतना अभियानहरू समावेश छन् ।
रोडम्यापमा कोर बैंकिङ प्रणालीदेखि डिजिटल भुक्तानी सुरक्षासम्मका विषयलाई समेट्दै, रणनीतिले त्रैमासिक साइबर जोखिम मूल्यांकन, सेक्युरिटी अपरेसन सेन्टर स्थापना, मल्टी फ्याक्टर अथेन्टिकेसन, इन्क्रिप्शन, डेटा हानी रोकथाम र आपतकालीन प्रतिक्रिया योजना अनिवार्य गरिनुपर्ने उल्लेख गरिएको छ ।
साथै सीएसआरआई र विश्वविद्यालयहरूसँगको सहकार्यमा साइबर सुरक्षामा नवप्रवर्तन प्रवर्द्धन, छात्रवृत्ति कोष स्थापनालगायतका दीर्घकालीन योजनाहरू सञ्चालन गर्न सकिने सुझाव दिइएको छ ।