हाप्सा नेपाल (HAPSA Nepal) ले दरबार हाई स्कूल, रानीपोखरीमा विशेष कार्यक्रम आयोजना गर्दै ‘Community Emergency Response Toolkit (CERT)’ मोबाइल एपको औपचारिक शुभारम्भ गरेको छ।
कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकलाई पहिलोपटक सरकारी विद्यालयमै हातले मात्र दिइने सीपीआर (CPR) र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गरिएको थियो। यसले नेपालका विद्यालय र समुदायमा आपतकालीन तयारी सुदृढ गर्ने दिशामा नयाँ माइलस्टोन स्थापित गरेको आयोजक संस्थाको भनाइ छ।
‘सडक साथी’ नामक संस्थाको प्राविधिक सहयोगमा हाप्सा नेपालले विकसित गरेको सर्ट (CERT) एपले नेपाली भाषामा विभिन्न आपतकालीन अवस्थाका व्यावहारिक भिडियोहरू उपलब्ध गराउँछ। एपमा घाँटीमा वस्तु अड्किँदा गरिने प्राथमिक उपचार (चोकिंग), रक्तस्राव नियन्त्रण, जलन, फ्र्याक्चर व्यवस्थापन, कार्डियाक एरेस्टमा हस्तक्षेप तथा अन्य आपतकालीन अवस्थाहरूमा अपनाउनुपर्ने उपायहरू समेटिएका छन्।
यी सामग्रीहरू ग्लोबल हेल्थ मिडिया प्रोजेक्टका मूल भिडियोहरूमार्फत तयार गरिएका हुन्, जसलाई हाप्साका संस्थापक डा. रामु खरेल तथा अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरूको विशेषज्ञता र नेपाली सन्दर्भअनुसार अनुकूलन गरिएको हो ।
HAPSA Nepal—ग्रामीण क्षेत्रमा समान पहुँचयुक्त आपतकालीन हेरचाह स्थापित गर्ने उद्देश्यसहित कार्यरत गैर–नाफामूलक संस्था—ले २०१३ देखि समुदाय–केन्द्रित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थापक तथा अमेरिकाको ब्राउन विश्वविद्यालयका आपतकालीन चिकित्सा विभागका सहायक प्राध्यापक डा. रामु खरेलका अनुसार, दीर्घकालीन लक्ष्य जीवनरक्षक सीपहरू राष्ट्रिय पाठ्यक्रममै समावेश गरी प्रत्येक विद्यार्थीलाई आपतकालीन अवस्थामा आत्मविश्वासपूर्वक प्रतिक्रिया दिन सक्षम बनाउने हो।
एप सार्वजनिक भएपछि गरी ५० जना विद्यार्थी र शिक्षकले व्यावहारिक सीपीआर र चोकिंग उपचारका सीप सिके। आपतकालीन चिकित्सक तथा हाप्साका सीपीआर कार्यक्रम प्रमुख डा. कमल थापाले, ‘कार्डियाक एरेस्ट वा चोकिंगको क्षणमा छिटो र सही प्रतिक्रिया जीवनरक्षक हुन्छ। अब विद्यालयमै यस्ता सीप विस्तार गर्न थालेका छौँ,’ भनाइ राखे।
हाडजोर्नी रोग विशेषज्ञ तथा ग्रामीण ट्रमा कार्यक्रम प्रमुख डा. मनदीप पाठकले फ्र्याक्चर स्थिर बनाउने, रक्तस्राव रोक्ने जस्ता सीपले अस्पताल पुग्नु अघि नै ज्यान बचाउन सक्ने बताए।
सर्ट एप विकासमा सहकार्य गरेको ‘सडक साथी’ संस्थाका प्रतिनिधि निपुण न्यौपानेले यो एपले जीवनरक्षक ज्ञान सिधै जनतासम्म पुर्याउने र सडक सुरक्षाबारे समुदायलाई सचेत बनाउने लक्ष्यअनुरूप रहेको बताए।
कार्यक्रममा शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षा तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको उपस्थिति थियो। सहभागीहरूले सामुदायिक प्रतिक्रियाका लागि आवश्यक न्यूनतम सुरक्षा कानुनको महत्त्व र नेपालमा शिक्षक तथा सुरक्षाकर्मीको भूमिकाबारे छलफल भएको थियो।
समापन सत्रमा हाप्सा नेपालका अध्यक्ष पंकज भट्टराईले धन्यवाद ज्ञापन गर्दै सर्ट एपले विद्यालय, प्रहरी इकाइ तथा समुदायमा जीवनरक्षक सीपहरू अझ व्यापक रूपमा विस्तार गर्ने विश्वास व्यक्त गरेका थिए। हालसम्म हाप्साले ६५० भन्दा बढी सशस्त्र प्रहरीलाई तालिम प्रदान गरिसकेको छ र शिक्षा मन्त्रालयसँग मिलेर सरकारी विद्यालयको राष्ट्रिय पाठ्यक्रममा सीपीआर तथा चोकिंग तालिम समावेश गर्ने प्रक्रियामा कार्यरत छ।
आईसीटी समाचार