कीवर्डहरू -

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि आधुनिक प्रविधिमा आधारित संयन्त्र निर्माणलाई प्राथमिकता दिएको बताएका छन् ।

उनले नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवा प्रदायक र डिजिटल वालेटहरूलाई एउटै प्लेटफर्ममा आबद्ध गरी नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।

७१ औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै आईजीपी कार्कीले पछिल्लो समय तीव्र रूपमा बढिरहेका वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए ।

प्रविधिको प्रयोग बढेसँगै यस्ता अपराधको जोखिमसमेत बढेकाले त्यसको रोकथाम र नागरिकका समस्या समाधान गर्न प्रभावकारी संयन्त्र विकास गरिने उनको भनाइ थियो ।

‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा उनले राष्ट्रसेवाका क्रममा विभिन्न कालखण्डमा वीरगति प्राप्त गर्ने अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

हालैका भोटेकोशी र त्रिशूलीलगायतका विपद्का क्रममा ज्यान गुमाएका प्रहरीलाई स्मरण गर्दै उनले कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

कार्कीले नेपाल प्रहरीको संगठन निर्माण र विकासमा योगदान पुर्‍याउने पूर्व तथा बहालवाला प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरे । आगामी दिनमा आइपर्ने विपद्को प्रभावकारी सामना गर्न प्रहरीलाई सक्षम बनाउन सरकारले नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम तथा पूर्वाधार विकासमा जोड दिएको उनले बताए ।

उनले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि जानकारी दिए । यसै अवसरमा विमोचित ‘पुलिस मिरर’ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई नयाँ पुस्तासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।