काठमाडौं । रुसको सिरियसमा नोभेम्बर ६ देखि १४ सम्म सम्पन्न पाँचौं ओपन वर्ल्ड एस्ट्रोनमी ओलम्पियाड (OWAO 2026) मा नेपाली विद्यार्थीहरूले चार पदक जितेका छन् । नेपाली टोलीले एक रजत र तीन कांस्य पदक हासिल गरेको हो ।
प्रतियोगितामा रिवाश राईले रजत पदक जित्दा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक प्राप्त गरे । रिवाशले नेपालको तर्फबाट ‘डायमण्ड अफ द टिम’ पुरस्कार समेत जितेका छन् ।

त्यस्तै, नेपाली टोलीका नेता तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईलाई प्रतियोगितामा विशेष सम्मान प्रदान गरिएको थियो । छ सदस्यीय नेपाली टोलीमा दीपचन कार्की र गरिमा बस्नेत पनि सहभागी थिए । टोलीका सबै सदस्य नासोले सन् २०१४ देखि हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय खगोलविज्ञान ओलम्पियाड (NAO) मार्फत छनोट भएका हुन् ।
१८ वर्ष वा सोभन्दा कम उमेरका विद्यार्थी सहभागी हुन पाउने ओपन वर्ल्ड एस्ट्रोनमी ओलम्पियाडमा प्रतियोगीहरूले सैद्धान्तिक, प्रयोगात्मक, अवलोकन र परीक्षण गरी चार चरणमा प्रतिस्पर्धा गर्छन् । यस प्रतियोगितामा रिवाशले जितेको रजत पदक अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले प्राप्त गरेको पहिलो रजत पदक हो ।

सन् २०२६ नेपाली खगोलविज्ञानका विद्यार्थीका लागि उपलब्धिमूलक बनेको छ । यसअघि नोभेम्बर १ देखि ८ सम्म थाइल्यान्डको उबोन राचाथानीमा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–जुनियर (IOAA-Junior 2026) मा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए ।
शाहवाजको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेको पहिलो स्वर्ण पदक हो । यस महिनामै दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थीले छ पदक जितेसँगै अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको कुल पदक संख्या १० पुगेको छ । नेपालले हालसम्म एक स्वर्ण, एक रजत र आठ कांस्य पदक जितेको छ ।
नेपालले अन्तर्राष्ट्रिय खगोलविज्ञान प्रतियोगितामा यसअघि पनि कांस्य पदक हासिल गर्दै आएको छ । सन् २०१९ मा रोमानियामा सम्पन्न २४औं अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा राहुल रञ्जन साहले कांस्य जितेका थिए ।
त्यसैगरी, सन् २०२१ मा कोलम्बियामा सम्पन्न १४ औं IOAA मा युवराज भण्डारी, सन् २०२३ मा चीनमा सम्पन्न २७ औं IAO मा दृशान्त कुमार महर्जन र सन् २०२५ मा बंगलादेशमा सम्पन्न २९ औं IAO मा सौर्यम श्रेष्ठले कांस्य पदक जितेका थिए । सन् २०२६ मा सहज केसी, ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले थप चार कांस्य पदक दिलाएका छन् ।

नेपालको सन् २०२६ को ओलम्पियाड यात्रा भने अझै जारी छ । आगामी डिसेम्बर ६ देखि १४ सम्म उज्बेकिस्तानको अन्दिजानमा आयोजना हुने ३०औं अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाड (IAO 2026) मा विद्यार्थी बिरञ्ची कुमार शाह र अपर्णा मिश्रले नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा नेपाली टोलीको नेतृत्व सुरेश भट्टराईले गर्नेछन् ।
यसअघि प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्नुअघि अक्टोबर २८ मा काठमाडौंस्थित रसियन हाउसमा नेपाली टोलीलाई सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता र विद्यार्थीहरूको सफलतामा सहयोग पुर्याएकोमा नासोले काठमाडौंस्थित रसियन हाउस तथा नेपाल रुस विज्ञान तथा प्रविधि समाजप्रति आभार व्यक्त गरेको छ ।
आईसीटी समाचार