गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका विवरण दुरूपयोग हुन नदिने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका डेटा सुरक्षित हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका नागरिकका जैविक तथा व्यक्तिगत विवरणको सुरक्षाप्रति सरकार संवेदनशील छ,’ उनले भने, ‘नागरिकको व्यक्तिगत विवरण राज्यसँग हुनुपर्छ, तर त्यसको दुरुपयोग हुन दिँदैनौँ । डेटा सुरक्षामा सरकारले ध्यान दिन्छ ।’
छलफलमा सांसदहरूले राष्ट्रिय परिचयपत्रमा समावेश भएका डेटा सुरक्षामा चासो व्यक्त गरेका थिए । जसको जवाफमा उनले सर्भर र नेटवर्कसहित सबै प्रणालीको सुरक्षा सुनिश्चित गर्न सरकार गम्भिर रहेको बताएका थिए ।
साथै उनले राष्ट्रिय परिचयपत्र सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रण गर्न अपरिहार्य भएको समेत बताएका छन् । पछिल्लो समय सरकारले सबै सार्वजनिक सेवालाई राष्ट्रिय परिचयपत्रमा जोड्ने गरी काम गरिरहेको छ ।