आकाश एसएमएसले प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम एसएमएसबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको 'मेसेज बक्स'मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि मेसेज बक्समा EC <स्पेस> आफ्नो जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गर्नुपर्नेछ । त्यसपछि उक्त सन्देशलाई ३१००३ मा पठाउनु पर्नेछ ।
उदाहरणका लागि यदि तपाईं काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को मतगणनाको अपडेट जान्न चाहनुहुन्छ भने 'EC Kavrepalanchok 1' टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ । म्यासेज पठाएको केही क्षणमै सम्बन्धित क्षेत्रको पछिल्लो मतपरिणाम एसएमएसमार्फत नै प्राप्त हुनेछ ।
साधारण मोबाइल प्रयोगकर्ताले पनि सहज रूपमा निर्वाचनको जानकारी पाउन सकून् भन्ने हाम्रो उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । यस सेवामार्फत उपलब्ध गराइने तथ्याङ्कहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा आधारित हुने छन् ।
आईसीटी समाचार