काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा त्यसको विवरण पत्ता लगाउन धेरैले ‘ट्रुकलर’ प्रयोग गर्छन् । फोनमा नम्बर सेभ नगरे पनि ट्रुकलरले कल गर्ने व्यक्तिको नाम, व्यवसाय वा कतिपय अवस्थामा ठेगानासम्बन्धी जानकारी समेत देखाइदिन सक्छ ।
तर प्रश्न उठ्छ, आफ्नो फोनमा नम्बर नै सेभ नगरेको अवस्थामा ट्रुकलरले त्यस्तो जानकारी कसरी पाउँछ ? यसको पछाडि कुनै जादु नभई ठूलो डाटाबेस, प्रयोगकर्ताबाट प्राप्त जानकारी र त्यसलाई विश्लेषण गर्ने प्रविधिले काम गरिरहेको हुन्छ ।
लाखौं प्रयोगकर्ताबाट बन्छ ठूलो डाटाबेस
ट्रुकलरको मुख्य आधार यसको विशाल डाटाबेस हो । प्रयोगकर्ताले एप इन्स्टल गर्दा आवश्यक अनुमति दिएमा आफ्नो फोनको सम्पर्क सूची ट्रुकलरको प्रणालीसँग सिंक गर्न सक्छन् । यसरी विभिन्न प्रयोगकर्ताबाट प्राप्त नाम र फोन नम्बरसम्बन्धी विवरण डाटाबेसमा थपिँदै जान्छ ।
यसको अर्थ तपाईंले आफ्नो फोनमा कुनै अपरिचित नम्बर सेभ नगरे पनि सम्भवत: अर्को व्यक्तिले त्यही नम्बर आफ्नो सम्पर्क सूचीमा सेभ गरेको हुन सक्छ । उक्त व्यक्तिले ट्रुकलर प्रयोग गरेको अवस्थामा त्यस नम्बरसम्बन्धी नाम ट्रुकलरको डाटाबेसमा पुगेको हुन सक्छ ।
रिपोर्टअनुसार सन् २०२१ सम्म ट्रुकलर ५८ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको थियो र यसको डाटाबेसमा करिब ५.७ अर्ब अद्वितीय फोन नम्बर रहेको दाबी गरिएको थियो । विशाल डाटाबेसकै कारण अपरिचित नम्बरको पहिचान समेत देखाउन ट्रुकलर सक्षम हुन्छ ।
एउटै नम्बरको फरक नाम भए के गर्छ ?
एउटै फोन नम्बरलाई फरक फरक व्यक्तिले फरक नाममा सेभ गरेका हुन सक्छन् । यस्तो अवस्थामा ट्रुकलरले कुन नाम देखाउँछ भन्ने अर्को महत्वपूर्ण प्रश्न हो । ट्रुकलरको प्रणालीले एउटै नम्बरका लागि उपलब्ध विभिन्न नाममध्ये धेरै प्रयोगकर्ताबाट दोहोरिएको वा बढी प्रचलित नामलाई प्राथमिकता दिने गर्छ । त्यसैले स्क्रिनमा देखिने नाम सम्बन्धित व्यक्तिको आधिकारिक नाम नै हुनुपर्छ भन्ने छैन ।
उदाहरणका लागि, कुनै व्यक्तिको नम्बर एक जनाले ‘राम’, अर्कोले ‘राम दाइ’ र अर्काले ‘रामजी’ भनेर सेभ गरेको छ भने प्रणालीले उपलब्ध डाटामध्ये बढी प्रचलित नामलाई प्राथमिकता दिन सक्छ ।
व्यवसायका नम्बर चिन्न अझ सजिलो
व्यवसाय, बैंक, डेलिभरी सेवा वा ग्राहक सेवा केन्द्रका नम्बरहरू भने तुलनात्मक रूपमा सजिलै पहिचान हुन सक्छन् । यस्ता नम्बर धेरै मानिसले प्रयोग गर्ने भएकाले कम्पनी वा सेवाको नामसँग जोडिएको जानकारी धेरै स्रोतबाट दोहोरिन सक्छ ।
त्यसैले अपरिचित नम्बरबाट आएको कल वास्तवमा कुनै कम्पनी, ग्राहक सेवा वा व्यवसायको नम्बर हो भने ट्रुकलरले व्यक्तिको नामभन्दा संस्थाको नाम देखाउने सम्भावना बढी हुन्छ ।
ठेगाना र अन्य विवरण कहाँबाट आउँछन् ?
ट्रुकलरमा देखिने घरको नाम, ठेगाना वा अन्य विवरण भने फोन नम्बरबाट स्वत: निकालिएको हुँदैन । यस्ता जानकारी प्रयोगकर्ताले उपलब्ध गराएको विवरण, अनुमति दिएर सिंक गरिएको सम्पर्क डेटा, सार्वजनिक फोन निर्देशिका, व्यापारिक प्रोफाइल तथा अन्य सार्वजनिक स्रोतबाट प्राप्त हुन सक्छन् । त्यसैले ट्रुकलरमा देखिएको विवरण सधैं शतप्रतिशत सही हुन्छ भन्ने हुँदैन ।
कहिले काहीँ अनौठा नाम किन देखिन्छन् ?
अपरिचित नम्बर खोज्दा कहिले काहीँ वास्तविक व्यक्तिको नामभन्दा फरक, अनौठो वा हास्यास्पद नाम समेत देखिन सक्छ । यसको कारण उक्त नम्बरलाई अर्को प्रयोगकर्ताले आफ्नो फोनमा जसरी सेभ गरेको छ, त्यही विवरण डाटाबेसमा समावेश हुनु हो ।
यसरी हेर्दा ट्रुकलरले कुनै व्यक्तिको वास्तविक पहिचान आफैं अनुमान गरेर पत्ता लगाउनेभन्दा विभिन्न स्रोतबाट प्राप्त ठूलो संख्याको सम्पर्क विवरणलाई संकलन, तुलना र विश्लेषण गरेर नम्बरको सम्भावित पहिचान देखाउने गर्छ । त्यसैले ट्रुकलरमा देखिएको नामलाई आधिकारिक पहिचानको प्रमाणभन्दा सम्भावित पहिचानका रूपमा लिनु उपयुक्त हुन्छ ।
आईसीटी समाचार