धेरै मानिसहरू हवाई यात्रा गर्न मन पराउँछन् । यसरी हावामा यात्रा गर्दा छुट्टै प्रकारको अनुभव हुनुका साथै यस्तो यात्राले धेरै मानिसहरूमा भिन्नभिन्न महत्त्व राख्छ ।
हवाई यात्राको क्रममा बच्चाहरू छन् भने बाहिरको दृश्य देखेर रमाउने गर्छन् । तर बिजनेस गर्ने तथा अन्य काम गर्ने मानिसहरू भने यात्रा गर्दाको समय र प्राय, फ्लाइटमा इन्टरनेटको व्यवस्था नहुने कारण आफ्नो काम प्रभावित हुन्छ भन्ने सोचाइ राख्छन् ।
धेरै मानिसहरू यात्राको समयमा भए पनि आफ्नो कामलाई निरन्तरता दिने इच्छा राख्छन् । यसकारण अहिले इन फ्लाइट वाइफाई धेरै सामान्य बन्दै गइरहेको छ । समयको बढ्दो मागलाई पूरा गर्नका लागि टेक्नोलोजीमा दैनिक धेरै परिवर्तन भइरहेका छन् ।
विश्वभर धेरै एयरक्राफ्टहरूमा वाइफाई तथा मोबाइल कम्युनिकेसन सर्भिस सुरू भइसकेको छ । एयर एसिया, एयर फ्रान्स, ब्रिटिस एयर, इजिप्ट एयर तथा कतार एयरवेजलगायत ३० भन्दा धेरै एयरलाइन्सहरूले अन्बोर्ड कनेक्टिभिटी अफर गर्छन् ।
नर्थ अमेरिका, इयु, एसिया र अस्ट्रेलियालगायतका देशहरूका न्यायालयले पनि विमानभित्र मोबाइल कम्युनिकेसन सर्भिसको प्रयोग गर्न सेलफोन पाउने अधिकार प्रदान गरेका छन् । विश्वभर धेरै देशहरूमा डोमेस्टिक र इन्टरनेसनल उडान गर्ने विमानहरूमा इन फ्लाइट वाईफाईको सुरूवात भइसकेको छ ।
यसरी एयरक्राफ्टमा पृथ्वीभन्दा तीस/पैतीस हजार फिटभन्दा माथि सिस्टम कसरी काम गर्छ र डिभाइसले वाइफाई नेटवर्क कसरी टिप्छ, त्यस्तै सेलफोनले कति माथिसम्म काम गर्छ भन्नेबारेमा धेरैलाई थाहा नहुन सक्छ । तल हेरौ इनफ्लाइट वाइफाईले कसरी काम गर्छ ।
यो कस्तो प्रविधि हो, जसले फ्लाइटमा इन्टरनेट उपलव्ध गराउँछ ?
प्लेनको इनफ्लाइट कनेक्टिभिटी सिस्टममा मुख्यतः दुई प्रकारको प्रविधिको प्रयोग भएको हुन्छ । पहिलो, स्पेसल ग्राउन्ड बेस्ड सेल टावरको प्रयोग र दोस्रो भनेको स्याटेलाइटको प्रयोग हो। यी दुई प्रविधिका माध्यमबाट विमानभित्र इन्टरनेट सेवाको पहुँच पुर्याइएको हुन्छ ।
आकाशको उडानमा टावरहरुले कसरी सेलफोनमा वाइफाई डेलिभर गर्छन् ?
ग्राउन्ड बेस्ड सेल टावर, इनफ्लाइट वाइफाई डेलिभर गर्ने पहिलो विधि हो । यसको काम पनि अन्य सामान्य टावरहरूले सेलफोनमा वाइफाई डेलिभर गरे जस्तै हो । यसलाई एयर टु ग्राउन्ड सिस्टम पनि भनिन्छ ।
यसमा एयरक्राफ्टको तलपट्टि एन्टेनाहरू जडान गरिएको हुन्छ र ग्राउन्डमा पनि सेल टावर राखिएको हुन्छ । यसरी ग्राउन्डमा भएका सेल टावरहरूले हावामा सिग्नल प्रवाह गर्छन् र हवाई जहाजमा रहेका एन्टेनाहरूले उक्त सिग्नल समाएर सम्बन्धित डिभाइसहरूमा प्रवाह गर्छन् ।
तर यो प्रक्रियाका लागि फ्लाइट अटेन्डेन्टले उक्त एटिजी (ATG) सिस्टमलाई अन गरेपछि मात्रै एयरक्राफ्टले जमिनमा रहेका भिन्नाभिन्नै सेल टावरबाट सिग्नलहरू प्राप्त गर्न सक्छ । भित्र रहेका प्रयोगकर्तासमक्ष पुऱ्याउन सक्छ । अहिलेको समयमा सामान्यतया एटिजी सेवाबाट प्राप्त हुने वाइफाईको स्पिड लगभग १० एमबिपीएस छ । जसले सामान्य इमेल, फेसबुक लगायतका एप्लिकेसन ब्राउज गर्न सकिन्छ ।
फ्लाइटमा स्याटेलाइटले इन फ्लाइट इन्टरनेटका लागि कसरी काम गर्छ ?
एयरलाइनहरूले अहिले फ्लाइटको बेलामा यात्रुहरूलाई इन्टरनेट सेवा प्रदान गर्नका लागि केयु ब्यान्ड (Ku band) र केए ब्यान्ड (Ka band) गरि मुख्य दुई प्रकारका स्याटेलाइट कनेक्टिभिटीको प्रयोग गरिरहेका छन् ।
केयु ब्यान्ड (Ku band) को वेभलेन्थ फ्रिक्वेन्सी स्लो छ, जुन १२ देखि १८ गिगाहर्जको स्पिडमा चल्छ भने केए ब्यान्ड (Ka band) २६ देखि ४० गिगाहर्जको स्पिडमा फास्ट चल्छ । केयु ब्यान्ड (KU band) र केए ब्यान्ड (KA band) दुवै वाइफाईका प्रकार उस्तै प्रकारले काम गर्छन् । प्लेनको टपमा रहेको एन्टेनाले प्लेनपाथमा पर्ने नजिकैको स्याटेलाइटसँग लिंक गर्छ । यसरी स्याटेलाईटसँग प्लेन कनेक्ट भइसकेपछि त्यसको सिग्नल वायरलेस एक्सेस पोर्टल Wireless Access Portal (WAP) मा पठाइन्छ ।
यो हामीले घरमा वाइफाईका लागि प्रयोग गर्ने राउटर जस्तै हो । प्लेनमा लगभग ५० जनाका लागि एउटा WAP को आवश्यकता पर्छ । यसरी वायरलेस एक्सेस पोर्टल (WAP) ले प्लेनभित्रका यात्रुहरूको डिभाइसमा वाइफाई पुन्याउन मद्दत गर्छ ।
यसरी इन फ्लाइट वाइफाईका लागि ग्राउन्ड टावर र स्याटेलाइट गरी दुई प्रविधिको प्रयोग गरिन्छ । तर के यी प्रविधिबाट प्राप्त भएको वाइफाईको प्रयोग जहाँ पनि गर्न सकिन्छ होला त ? उदाहरणका लागि गोगोको एयर तो ग्राउन्ड टेक्नोलोजीमा सेल टावर प्रयोग गरिने भएका कारण यसले जमिनमा मात्र काम गर्छ ।
समुद्रको माथि उडिरहेको हवाई जहाजमा एटीजी (ATG) प्रविधिले काम गर्दैन। तर स्याटेलाइट प्रविधिमार्फत प्रयोग गरिएको वाइफाईले भने जमिन अथवा समुद्र जेमाथि हवाईजहाज उडे पनि काम गर्छ । तर यसको पनि एउटा कमजोरी छ, त्यो के भने उत्तरी ध्रुव (North Pole) र दक्षिण ध्रुव (South Pole) मा भने यो सेवाले काम गर्दैन ।
आकाशमा सेलफोनले कसरी काम गर्छ ?
हवाईजहाज उड्ने बेलामा विमानभित्रका फ्लाइट क्रुहरूले यात्रुहरूलाई आफ्नो मोबाइल फोन बन्द गर्न अथवा एयरप्लेन मोडमा राख्न आग्रह गर्छन । तर यदि प्लेन उडिसकेपछि पनि फोन बन्द नगर्ने हो भने यसले सेलुलर टावरको रेन्जभित्र रहुन्जेलसम्म काम गर्छ । सेलफोनले जमिनमा रहेको सेल टावरको मद्दतले कम्युनिकेट गर्ने गर्छ ।
तर त्यसले नेटवर्कलाई हावामा सयौ फिट माथिसम्म फैलाउन पनि सक्छ । तर बिस्तारै प्लेन माथि बढ्दै गएपछि भने नेटवर्कले काम गर्न छोड्छ । किनकि नेटवर्कको उपयोग आकाशमा भन्दा जमिनमा धेरै हुने भएका कारण सिग्नल प्रभावकारीइ होस भन्ने उद्देश्यले टावरलाई निर्देशित गरिएको हुन्छ ।
कति उचाइसम्म सेलफोनबाट फोनकल तथा टेक्स्टहरू गर्न सकिन्छ भन्ने कुरा टावर तथा ट्रान्समिटरमा भर पर्छ । तर हवाईजहाज १० हजार फिटको उचाइमा उड्दा सम्म भने सेलफोनले सिग्नल टिप्न सक्छ । यसकारण मोबाइल फोन सेवालाई उचाइले मात्र प्रभावित पार्छ भन्ने होइन ।
जहाजको स्पिडले समेत फोनको सिग्नल कनेक्सनमा असर पार्छ, प्लेनभित्रका यात्रुहरूको मोबाइलमा सिग्नल कनेक्सनका लागि प्लेन लगभग प्रतिघण्टा १ सय ५५ माइल वा सोभन्दा कम गतिमा हुनुपर्छ र मात्रै मोबाइलबाट मेसेज तथा फोन गर्न सकिन्छ । साथै एयरप्लेनको मेटल बडी पनि सेलुलर सर्भिसका लागि बाधा हुन सक्छ ।
सेलफोनमा एयरप्लेन मोड के हो ?
एयरप्लेन मोड स्मार्टफोन तथा ट्याब्लेटको सेटिङ हो । यसले डिभाइसको सेलुलर कनेक्सन, वाइफाई, जीपीएस तथा ब्लुटुथसहित सम्पूर्ण वायरलेस कम्युनिकेसन बन्द गर्छ । यसकारण फोनकल, म्यासेज तथा कुनै पनि डाटा पठाउन र प्राप्त गर्न सकिँदैन ।
अहिलेको समयमा धेरै एयरलाइन्सले इन्फ्लाइट वाइफाई सेवाको सुरूवात गरिसकेका छन् । तर फ्लाइटबाट अन्य डिभाइसहरूसँग कनेक्ट गर्नका लागि सेलुलर नेटवर्क कनेक्सनको सुरुवात भने भएको छैन् । एयरप्लेन मोडमा ट्रान्समिसन सिग्नल मात्र निष्क्रिय हुन्छ । यसकारण एयरलाइनको नियमअनुसार यात्रुहरूले सेलफोनका क्यामेरा, गेम्सलगायतका फङसनहरू भने प्रयोग गर्न पाउँछन् ।