कीवर्डहरू -

ह्याकरबाट बच्न इन्स्टाग्राममा अतिरिक्त सुरक्षा तह कसरी थप्ने ?

ह्याकरबाट बच्न इन्स्टाग्राममा अतिरिक्त सुरक्षा तह कसरी थप्ने ?

काठमाडौं । धेरै मानिसहरूले आफ्नो सामाजिक सञ्जाल खातामा बलियो र फरक पासवर्ड राखे पुग्छ भन्ने सोच्ने गर्छन् । तर प्रविधिको विकाससँगै ह्याकरहरूले नयाँ नयाँ तरिकाबाट खाता ह्याक गर्ने गरेका छन् । त्यसैले इन्स्टाग्रामले प्रयोगकर्ताका लागि दुई चरणीय प्रमाणीकरण (Two-Factor Authentication/2FA) सुविधा उपलब्ध गराएको छ ।

यो सुरक्षा प्रणालीले नयाँ उपकरणबाट लगइन गर्दा पासवर्डसँगै अतिरिक्त कोड वा प्रमाणीकरण माग्छ । यसले पासवर्ड चोरी भएपनि खातामा अनधिकृत पहुँच हुन नदिई सुरक्षा अझ मजबुत बनाउँछ । यदि तपाईं पनि आफ्नो इन्स्टाग्राम खाता सुरक्षित बनाउन चाहनुहुन्छ भने, सेटिङमा गएर सजिलै Two-Factor Authentication सक्रिय गर्न सक्नुहुन्छ ।

इन्स्टाग्राममा Two-Factor Authentication सक्षम गर्नुका फाइदाहरू
इन्स्टाग्राममा Two-Factor Authentication सक्षम गर्दा धेरै फाइदाहरू हुन्छन् । यसले तपाईंको सामाजिक सञ्जाल खातामा अतिरिक्त सुरक्षा तहको रूपमा काम गर्छ र हरेक पटक लगइन गर्दा प्रमाणीकरण गर्न आवश्यक बनाउँछ ।

2FA नभएको अवस्थामा केवल युजरनेम वा इमेल आईडी र पासवर्ड प्रयोग गरेर सजिलै लगइन गर्न सकिन्छ । तर 2FA सक्रिय भएपछि हरेक लगइनमा थप प्रमाणीकरण आवश्यक पर्छ, जसले खाताको सुरक्षा अझ बलियो बनाउँछ । यदि तपाईंले आफ्नो इन्स्टाग्राम खातामा Two-Factor Authentication सक्रिय गर्नुभएको छ भने, इन्स्टाग्रामले लगइन पुष्टि गर्न विशेष प्रमाणीकरण कोड माग्छ ।

इन्स्टाग्रामले प्रयोगकर्तालाई दुई चरणीय प्रमाणीकरणका लागि थर्ड–पार्टी Authentication App वा SMS/WhatsApp मार्फत कोड प्राप्त गर्ने विकल्प दिन्छ । कम्पनीले Duo Mobile वा Google Authenticator जस्ता एप प्रयोग गर्न सुझाव दिन्छ, किनकि यस्ता एपमा कोड केही मिनेटमै स्वत: परिवर्तन हुन्छ ।

तर यदि कसैले तपाईंको फोनमा पहुँच पायो भने SMS वा WhatsApp बाट आएका कोड प्रयोग गरेर खाता खोल्ने जोखिम रहन सक्छ । यद्यपि, इन्स्टाग्रामले प्रत्येक नयाँ लगइन प्रयासमा फरक र नयाँ कोड पठाउने भएकाले पुरानो कोड प्रयोग गरेर खाता पहुँच गर्न सम्भव हुँदैन ।

इन्स्टाग्राममा Third-Party App प्रयोग गरी Two-Factor Authentication कसरी खोल्ने ?
इन्स्टाग्राममा थर्ड पार्टी Authentication App प्रयोग गरेर 2FA सक्रिय गर्न पहिले आफ्नो फोनमा इन्स्टाग्राम खोल्नुहोस् र खातामा लगइन गर्नुहोस् । त्यसपछि प्रोफाइल पेजमा गएर माथिल्लो दायाँपट्टि रहेको तीन लाइन (Menu) मा क्लिक गरी Settings खोल्नुहोस् ।

त्यसपछि Accounts Center हुँदै Password and Security विकल्पमा जानुहोस् र Two-Factor Authentication चयन गर्नुहोस् । अब आफ्नो खाता छनोट गरी Authentication App विकल्प छान्नुहोस् ।

इन्स्टाग्रामले दिएको QR Code वा Security Key प्रयोग गरी Google Authenticator वा Duo Mobile जस्ता एपमा सेटअप गर्नुहोस् । त्यसपछि एपले दिने ६ अङ्कको कोड लगइन गर्दा प्रयोग गर्नुपर्छ । यसरी 2FA सक्रिय भएपछि तपाईंको इन्स्टाग्राम खाता थप सुरक्षित हुन्छ ।

इन्स्टाग्राममा SMS वा WhatsApp मार्फत Two-Factor Authentication कसरी खोल्ने ?
इन्स्टाग्राममा Two-Factor Authentication सक्रिय गर्न पहिले Settings हुँदै Accounts Center र Password & Security विकल्पमा जानुहोस् । त्यसपछि Two-Factor Authentication चयन गरी SMS वा WhatsApp विकल्प छान्नुहोस् ।

अब आफ्नो मोबाइल नम्बर राखेर Next थिच्नुहोस् । इन्स्टाग्रामले तपाईंको फोनमा ६ अङ्कको कोड पठाउँछ, जसलाई WhatsApp वा SMS मार्फत प्राप्त गर्न सकिन्छ ।प्राप्त कोड इन्स्टाग्राममा राखेर पुष्टि गरेपछि 2FA सक्रिय हुन्छ ।

यसपछि हरेक पटक नयाँ उपकरणबाट लगइन गर्दा इन्स्टाग्रामले नयाँ सुरक्षा कोड माग्नेछ, जसले तपाईंको खाता अझ सुरक्षित बनाउँछ ।