काठमाडौं । विश्वभरका युवा आईसीटी प्रतिभाहरूलाई एकै मञ्चमा ल्याउने हुवावे आईसीटी प्रतियोगिता २०२५-२०२६ को विश्वव्यापी फाइनल तथा पुरस्कार वितरण समारोह चीनको शेन्जेनमा सम्पन्न भएको छ । यस वर्षको संस्करणलाई आयोजकले प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा ठूलो र व्यापक संस्करणका रूपमा वर्णन गरेका छन् ।
प्रतियोगितामा १०० भन्दा बढी देश तथा क्षेत्रका २ हजारभन्दा बढी विश्वविद्यालय र उच्च शिक्षण संस्थाबाट करिब २ लाख २० हजार विद्यार्थी तथा प्राध्यापकको सहभागिता रहेको थियो । राष्ट्रिय तथा क्षेत्रीय चरण पार गर्दै ४९ देश र क्षेत्रका १७७ टोलीले विश्व फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
अभ्यास, नवप्रवर्तन र प्रोग्रामिङ गरी तीन प्रमुख विधामा सम्पन्न प्रतिस्पर्धापछि चीन, नाइजेरिया, सिंगापुर, अल्जेरिया, ब्राजिल, इजिप्ट, केन्या र डोमिनिकन गणतन्त्रका १८ टोलीले मुख्य पुरस्कार हात पारेका छन् ।
यस संस्करणमा प्राविधिक उत्कृष्टतासँगै सामाजिक प्रभाव र वातावरणीय योगदानलाई पनि विशेष प्राथमिकता दिइएको थियो । “प्रविधिमा महिला” पुरस्कार अजरबैजान, नाइजेरिया, केन्या, चीन र बहराइनका सात महिला टोलीलाई प्रदान गरिएको थियो भने “हरित विकास पुरस्कार” घाना र चीनका टोलीले प्राप्त गरेका छन् ।
समापन समारोहलाई सम्बोधन गर्दै हुवावे आईसीटी रणनीति तथा व्यवसाय विकास विभागका अध्यक्ष रिची (होङ्ह्वा) पेङले प्रतियोगिताले हुवावेको ‘प्रविधिको सदुपयोगमार्फत मानव विकास’ भन्ने दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गरेको बताए ।
उनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा प्राविधिक दक्षता, नवप्रवर्तन सोच र वास्तविक समस्या समाधान गर्ने क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
पेङले आगामी संस्करणदेखि चीनमा “एसेन्ड एआई अपरेटर डेभलपमेन्ट ट्र्याक” सुरु गरिने घोषणा गर्दै यसले विद्यार्थी तथा युवा विकासकर्तालाई अत्याधुनिक कृत्रिम बुद्धिमत्ता प्रविधिसँग प्रत्यक्ष काम गर्ने अवसर प्रदान गर्ने जानकारी दिए ।
कार्यक्रममा युनेस्कोको सूचना प्रविधि शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानकी कार्यवाहक निर्देशक तथा शिक्षा र एआई विभाग प्रमुख डा. शफिका इसाक्सले एआईको तीव्र विकाससँगै शिक्षा क्षेत्रलाई रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताइन् ।
उनले युनेस्को र हुवावेबीच एआई क्षमता विकास र आईसीटी शिक्षा विस्तारमा सहकार्य भइरहेको उल्लेख गरिन् । प्रतियोगितासँगै आयोजित “एआई एजुकेसन ट्रान्सफर्मेसन एक्सेलेरेशन समिट”मा शिक्षा र उद्योग क्षेत्रका विज्ञहरूले एआईले शिक्षा प्रणालीमा ल्याइरहेको परिवर्तन, नवप्रवर्तनका सम्भावना र उद्योग–शिक्षा सहकार्यका अवसरबारे छलफल गरेका थिए ।
यस अवसरमा हुवावेले विश्वविद्यालयका लागि “आईसीटी एकेडेमी एआई कोर्स सोलुसन” सार्वजनिक गरेको छ, जसले उच्च शिक्षामा एआई अध्ययनलाई व्यवस्थित बनाउँदै दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी कम्पनीले “आईसीटी स्किल डेभलपमेन्ट इनसाइट्स रिपोर्ट एन्ड रिकमेन्डेसन्स” पनि सार्वजनिक गरेको छ, जसले नीति निर्मातालाई डिजिटल प्रतिभा विकास र उद्योग प्रवर्द्धनका लागि मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।
हुवावेका अनुसार एआई, कम्प्युटिङ, बिग डाटा र साइबर सुरक्षाजस्ता क्षेत्रमा विश्वव्यापी रूपमा दक्ष जनशक्तिको माग तीव्र रूपमा बढ्दै गएको छ, तर आपूर्ति अझै सीमित छ । यही अन्तर घटाउन प्रतियोगिताले विद्यार्थीहरूलाई व्यवहारिक सीप, नवप्रवर्तन क्षमता र उद्यमशील सोच विकास गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म प्रदान गर्दै आएको छ ।
आईसीटी समाचार