कीवर्डहरू -

डिजिटल विभाजन घटाउन हुवावेको पहल, विश्वभरका १७ करोड मानिससम्म डिजिटल पहुँच विस्तार

डिजिटल विभाजन घटाउन हुवावेको पहल, विश्वभरका १७ करोड मानिससम्म डिजिटल पहुँच विस्तार

प्रविधि कम्पनी हुवावेले विश्वका दुर्गम क्षेत्रका १७ करोडभन्दा बढी मानिससम्म डिजिटल पहुँच विस्तार गर्दै अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटियू) को ‘पार्टनर टु कनेक्ट डिजिटल गठबन्धन’ अन्तर्गत गरेको प्रतिबद्धता लक्ष्य पार गरेको जनाएको छ।

यो घोषणा हुवावे सूचना तथा सञ्चार प्रविधि व्यवसाय समूहका प्रमुख कार्यकारी अधिकृत याङ चाओबिनले बार्सिलोनामा आयोजित कम्पनीको ‘टेक केयर्स फोरम’ कार्यक्रममा गरेका हुन्।

सन् २०२२ मा आईटियूको ‘पार्टनर टु कनेक्ट डिजिटल गठबन्धन’मा सहभागी हुँदा हुवावेले सन् २०२५ सम्म दुर्गम क्षेत्रका १२ करोड मानिसलाई डिजिटल सञ्जालमा जोड्ने प्रतिबद्धता जनाएको थियो। कम्पनीका अनुसार हाल १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गर्दै उक्त लक्ष्य उल्लेखनीय रूपमा पार गरिएको छ।

उद्घाटन मन्तव्यका क्रममा याङले कृत्रिम बुद्धिमत्ता (एआई) तीव्र गतिमा विकास भइरहे पनि डिजिटल विभाजन अझै कायम रहेको र आगामी दिनमा अझ फराकिलो हुने जोखिम रहेको बताए।

उनले भने, ‘समावेशी र दिगो एआई युग निर्माणका लागि उच्च–गतिको डिजिटल सञ्जाल र सशक्त गणन क्षमता अत्यावश्यक आधार हुन्।’

उनका अनुसार आईटियूअन्तर्गतको प्रतिबद्धता पूरा गर्नु नवप्रवर्तन र डिजिटल समावेशीकरणप्रति हुवावेको निरन्तर प्रतिबद्धताको प्रमाण हो। यसले दुर्गम समुदायलाई स्वास्थ्य, शिक्षा तथा वित्तीय सेवामा पहुँच विस्तार गर्न सहयोग पुगेको उनले बताए।

यस अवसरमा आईटियू दूरसञ्चार विकास ब्यूरोका निर्देशक कोस्मास जाभाजाभाले डिजिटल विभाजन कम गर्न हुवावेले गरेको योगदानको प्रशंसा गरे। ग्रामीण तथा सेवा–विहीन समुदायलाई डिजिटल सञ्जालमा जोड्न नवप्रवर्तनशील व्यवसायिक मोडेल, समावेशी दृष्टिकोण, सञ्चार स्रोतको प्रभावकारी उपयोग र स्थानीय क्षमतामा निरन्तर लगानी आवश्यक रहेको उनले बताए।

हुवावेका सार्वजनिक मामिला तथा सञ्चार विभागका अध्यक्ष जेफ वाङका अनुसार डिजिटल समावेशीकरण दुई मुख्य आधारमा टेकेको हुन्छ— समावेशी कनेक्टिभिटी र डिजिटल सीप सशक्तीकरण।

डिजिटल सीप अभाव समाधान गर्न हुवावेले सरकार तथा विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थी, युवा, ज्येष्ठ नागरिक र महिलाका लागि डिजिटल पहुँच विस्तार, सीप तालिम तथा विज्ञान–प्रविधि–इन्जिनियरिङ–गणित (स्टेम) सम्बन्धी पाठ्यक्रम विकासका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

सन् २०१९ मा सुरु गरिएको ‘स्किल्स अन ह्वील्स’ कार्यक्रममार्फत हालसम्म २१ देशका एक लाख ३० हजारभन्दा बढी मानिसलाई मोबाइल डिजिटल तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ।

ग्रामीण दूरसञ्चार पूर्वाधार विस्तारका लागि हुवावेले सन् २०१७ देखि ‘रुरल सिरिज’ समाधानलाई निरन्तर स्तरोन्नति गर्दै आएको छ।

त्यस्तै नोभेम्बर २०२५ मा सुरु गरिएको ‘हुवावे रुरलकाउ’ समाधानले एमटिएन नाइजेरियासँगको सहकार्यमा करिब १,५०० जनसंख्या भएका गाउँसम्म मोबाइल सेवा विस्तार गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।

हुवावेका अनुसार यस्ता प्रविधि समाधानहरूले दुर्गम समुदायलाई डिजिटल सञ्जालमा जोड्दै विश्वभर १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

कम्पनीले आगामी दिनमा ग्रामीण सञ्जाल प्रविधिमा थप नवप्रवर्तन, खुला सहकार्य तथा डिजिटल सीप सशक्तीकरणलाई तीव्र बनाउने प्रतिबद्धता पनि जनाएको छ।