काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) प्रोग्राम २०२६” अन्तर्गत आयोजना गरेको अभिमुखीकरण सत्र सम्पन्न गरेको छ। औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई) को समन्वयमा सञ्चालित यो कार्यक्रममार्फत ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपलाई इन्क्युबेसन सहयोग उपलब्ध गराइने लक्ष्य राखिएको छ ।

मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने हाइब्रिड मोडलको यस कार्यक्रमअन्तर्गत सहभागी स्टार्टअपले विशेषज्ञसँगको वान-टु-वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट एन्ड भ्यालिडेसन सपोर्ट तथा इन्भेस्टर रेडिनेस प्रिपेरेसन प्राप्त गर्नेछन् । आयोजकका अनुसार कार्यक्रमले काठमाडौं उपत्यकाभन्दा बाहिर पनि उद्यमशीलता विस्तार गर्दै क्षेत्रीय इन्नोभेसन इकोसिस्टमलाई सुदृढ बनाउने उद्देश्य राखेको छ ।
इन्क्युबेसनमा १२ टिमहरु सहभागी रहेका थिए जसमा : हुन्छ डिजिटल, खाजा घर, कृषि कम्पास, लोकल बजार, मन्थन, मेडिक्याब टेक्नोलोजिज प्रा. लि., मेरो सफारी मेरो गुनासो, माइन्ड ब्रिज, सफारी यात्री, सजिलो, उत्सव इभेन्ट्स र भोल्टभी चयन भएका टोलीहरू रहेका थिए ।

कार्यक्रममा टेक लिड, नेशनल इन्नोभेसन सेन्टरका सञ्जय पौडेल, लुनार टेक्नोलोजीका चन्द्र आचार्य, क्षितिज दहाल, किङ्सपायर टेक्नोलोजिजका केशब भण्डारी र काफल्सका एक्जिक्युटिभ चेयरम्यान सन्तोष धमलाले आफ्ना अनुभव र विचार साझा गरेका थिए । कार्यक्रममा नमुना कलेजका क्याम्पस प्रमुखको पनि उपस्थिति रहेको थियो । सहभागीहरूले स्टार्टअप विकास, बजार विस्तार, लगानी तयारी र व्यवहारिक चुनौतीबारे छलफल गरेका थिए ।

आयोजक संस्थाका अनुसार यो इन्क्युबेसन पहलले उद्यमीलाई उद्योग–विशेषज्ञसँग प्रत्यक्ष संवाद, व्यावहारिक तालिम र नेटवर्किङ अवसर उपलब्ध गराउँदै उनीहरूको बिजनेस मोडल परिष्कृत गर्न मद्दत गर्नेछ । उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपले सीड इन्भेस्टमेन्ट सपोर्टसहित आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स र एआई कन्फरेन्सजस्ता राष्ट्रिय प्लेटफर्ममा पहुँच पाउने अवसरसमेत रहनेछ ।
आईसीटी फाउन्डेसनले यसअघि पनि डिजिटल कर्णाली कन्क्लेभ र डिजिटल मधेश कन्क्लेभजस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा योगदान दिँदै आएको छ । इटहरीमा सम्पन्न यो सत्रलाई कोशी प्रदेशमा स्टार्टअप इकोसिस्टम विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
यो कार्यक्रमका एसोसिएटेड पार्टनरहरूमा लुनार सोलुसन र नमुना कलेज, इटहरी रहेका छन् । त्यसैगरी, कोशी प्रदेशका सपोर्टिङ पार्टनरहरूमा किन्स्पायर प्रा. लि. र काफाल्स रहेका छन् ।
आईसीटी समाचार