कीवर्डहरू -

आईडिया स्टुडियोको फाउन्डर्स क्लबले सञ्चालनमा ल्यायो ई-कमर्स प्लेटफर्म ‘आईमार्ट’

आईडिया स्टुडियोको फाउन्डर्स क्लबले सञ्चालनमा ल्यायो ई-कमर्स प्लेटफर्म ‘आईमार्ट’

आईडिया स्टुडियो नेपालको फाउन्डर्स क्लबले ई-कमर्स प्लेटफर्म आईमार्ट सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौं मोडल कलेजमा आयोजित एक कार्यक्रममा आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाको उपस्थितिमा आईमार्ट उद्घाटन गरिएको थियो । 

कार्यक्रममा डा. छिरिङ लामाले आइडिया स्टुडियोको विकासशील मिशनलाई जोड दिदै ‘विचारबाट उद्योगसम्म’ भन्ने नारा अब ‘उद्योगबाट बजारसम्म’ विस्तार भएको बताए । 

यस्तै फाउण्डर्स क्लबकी अध्यक्ष सुरूची खड्काले आईमार्टबाट क्लबका सदस्यहरूले आफ्ना उत्पादनहरू बिक्री गर्न सक्ने जानकारी दिएकी थिइन् ।

साथै आइडिया स्टुडियोका कार्यकारी निर्देशक अनिल बस्नेतले आईमार्टले ब्रान्ड निर्माण गर्न सघाउने र विश्वव्यापी रूपमा बेच्ने अवसर प्रदान गर्ने बजारको रूपमा काम गर्ने बताए । 

विगत एक दशकमा, आइडिया स्टुडियोले आइडिया पिचिङ र इन्क्युबेटिङ कम्पनीहरूको सात सिजन सफलतापूर्वक सम्पन्न गरेको छ, जसको परिणामस्वरूप १३१ वटा उद्यमहरू सिर्जना भएका छन् ।

५ हजार भन्दा बढी उत्पादनहरू र ५०० भन्दा बढी सेवाहरूलाई उपभोक्ताहरूसम्म पुर्याउन आईमार्टले एउटा प्लेटफर्मको रूपमा काम गर्नेछ । आईमार्टको डेलिभरी पार्टनरमा गुडविल लजिष्टिक रहेको छ । आईमार्टको अर्डरहरू नेपालभरि छिटो छरितो तरिकाले गुडविलले ग्राहकको घरसम्मै पुर्‍याइदिने गुडविल लजिस्टिकका प्रमुख सञ्चालन अधिकृत ऋषि खनालले जनाकारी दिए ।

अहिले वेबसाइटमा मात्रै उपलब्ध रहेको आईमार्टको छिट्टै मोबाइल एप समेत सार्वजनिक हुनेछ । फाउन्डर्स क्लबमा आईडिया स्टुडियोले इनेबल गरेका १८४ उद्यमका संस्थापकहरू सदस्य रहेका छन् ।