अमेरिकामा ओपन एआई र रक्षा विभाग सँगको साझेदारी सार्वजनिक भएपछि यसको मोबाइल एप च्याटजीपीटी अनइन्स्टल गर्ने क्रम उल्लेख्य रूपमा बढेको छ। बजार विश्लेषण कम्पनी सेन्सर टावरका अनुसार फेब्रुअरी २८ शनिबार अमेरिकामा च्याटजीपीटी एप अनइन्स्टल २९५ प्रतिशतले दिन–प्रतिदिन बढेको छ। विगत ३० दिनमा औसत ९ प्रतिशत रहेको अनइन्स्टल दरको तुलनामा यो निकै ठूलो उछाल हो।
यसैबीच, ओपन एआई का प्रतिस्पर्धी एन्थ्रोपिकको एआई च्याटबोट क्लाउडको डाउनलोड उल्लेख्य रूपमा बढेको छ। कम्पनीले अमेरिकी रक्षा विभागसँग सहकार्य नगर्ने घोषणा गरेपछि फेब्रुअरी २७ शुक्रबार ३७ प्रतिशत र फेब्रुअरी २८ शनिबार ५१ प्रतिशतले अमेरिकी डाउनलोड वृद्धि भएको सेन्सर टावरले जनाएको छ। एन्थ्रोपिक ले एआईलाई अमेरिकी नागरिकमाथि निगरानी गर्न वा पूर्ण स्वचालित हतियार प्रणालीमा प्रयोग गर्न सकिने जोखिमप्रति चिन्ता व्यक्त गर्दै सहकार्यको सर्तमा सहमति नभएको बताएको थियो।
ओपन एआई र अमेरिकी रक्षा विभागबीचको साझेदारीको खबर सार्वजनिक भएसँगै च्याटजीपीटी को अमेरिकी डाउनलोडमा पनि गिरावट आएको छ। शनिबार १३ प्रतिशतले घटेको डाउनलोड दर आइतबार थप ५ प्रतिशतले झरेको थियो। (साझेदारी घोषणा हुनुअघि शुक्रबार भने एपको डाउनलोड १४ प्रतिशतले बढेको थियो।)
यस घटनाक्रमको प्रभाव एप स्टोर रेटिङमा पनि देखिएको छ। शनिबार च्याटजीपीटी का १-स्टार समीक्षा ७७५ प्रतिशतले बढेका थिए भने आइतबार पुनः १०० प्रतिशतले वृद्धि भएको थियो। सोही अवधिमा ५-स्टार समीक्षा ५० प्रतिशतले घटेको सेन्सर टावरको तथ्यांक छ।
अर्को डेटा प्रदायक एप फिगर्सले पनि शनिबार पहिलोपटक अमेरिकामा क्लाउड को दैनिक डाउनलोड च्याटजीपीटी भन्दा बढी भएको जनाएको छ। एप फिगर्सका अनुसार क्लाउड को अमेरिकी डाउनलोड शनिबार ८८ प्रतिशतले बढेको अनुमान गरिएको छ।
क्लाउड ले अमेरिकामा मात्र होइन, बेल्जियम, क्यानडा, जर्मनी, लक्जेम्बर्ग, नर्वे र स्विट्जरल्याण्ड लगायत ६ देशमा निःशुल्क आईफोन एपतर्फ नम्बर १ स्थान हासिल गरेको बताइएको छ।
त्यस्तै, तेस्रो बजार विश्लेषण कम्पनी सिमिलर वेबले पछिल्लो एक सातामा क्लाउड को अमेरिकी डाउनलोड जनवरीको तुलनामा झण्डै २० गुणा बढेको जनाएको छ। तर, यस वृद्धि पछाडि राजनीतिक कारण मात्र नभई अन्य कारणहरू पनि हुन सक्ने चेतावनी दिएको छ।
एआई कम्पनीहरूको सरकारी सहकार्य र त्यसले नागरिक स्वतन्त्रता तथा सुरक्षा सम्बन्धी प्रश्नमा पार्ने प्रभावबारे उपभोक्ताको धारणा कति संवेदनशील छ भन्ने कुरा यी तथ्यांकहरूले स्पष्ट पारेका छन्।
आईसीटी समाचार