नेपाल टेलिकमले चालु आर्थिक वर्षको पुस मसान्तसम्म खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार कमाएको छ । टेलिमकले आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिकको वित्तीय विवरण (अडिट नगरिएको) प्रकाशित गर्दै २०८० पुससम्म खुद मुनाफा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रूपैयाँ गरेको हो ।
गत वर्षको तुलनामा यस वर्षको पुस मसान्तसम्म टेलिकमको खुद नाफा ३२ करोड ३३ लाख ७३ हजार रूपैयाँ घटेको छ । गत आवको सोही अवधि (२०७९ पौष मसान्त) मा टेलिकमले ४ अर्ब २५ करोड ४७ लाख ७६ हजार खुद नाफा कमाएको थियो ।
यस्तै टेलिकमले चालु आवको दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आवको सोही अवधि (२०७९ पौष मसान्त) को कूल आय २२ अर्ब १० करोड ११ लाख ३७ हजारको तुलनामा रु. ७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी हो ।
चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको कुल सञ्चालन आय समेत घटेको छ । चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल सञ्चालन आय रु. १७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेकोमा गत आवको सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालन आय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामा रु ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी भएको छ ।
गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आवसोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको कारण टेलिमको बढ्दो ओटीटीको प्रयोग, विद्युत आपूर्ती र मर्मतसम्भार समयमा हुन नसक्नु तथा कम प्रतिफल प्राप्त हुने विकट ठाउँमा सेवा विस्तार औल्याएको छ ।
यस बाहेक सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन र बैंक ब्याजदरमा भएको परिवर्तनका कारण आयमा असर परेको टेलिकमले जनाएको छ ।
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      