नेपालमा गूगल वर्कस्पेश सम्बन्धी अनधिकृत सदस्यता प्रयोगका कारण खाता निलम्बनका घटनाहरू बढ्न थालेपछि टेलि डिजिटल सर्भिसेसले संस्थाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
कम्पनीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अनधिकृत विक्रेतामार्फत खरिद गरिएका सदस्यताका कारण विभिन्न संस्थाहरूले अचानक सेवा अवरोध, इमेल तथा साझा ड्राइभमा पहुँच प्रतिबन्ध र सञ्चालनसम्बन्धी समस्या भोग्नुपरेको जनाएको छ।
नेपालका लागि गूगल वर्कस्पेशको आधिकारिक सूचीबद्ध दर प्रति प्रयोगकर्ता प्रति महिना ७ अमेरिकी डलर रहेको कम्पनीले जनाएको छ। यसभन्दा कम मूल्यमा उपलब्ध गराइने सदस्यता प्रायः गुगलको स्वीकृत लाइसेन्स तथा वितरण संरचनाबाहिर हुन सक्ने भएकाले यसलाई चेतावनी संकेतका रूपमा लिनुपर्ने कम्पनीको भनाइ छ।
कम्पनीका व्यवसाय तथा मार्केटिङ प्रमुख निखिल खेराडीका अनुसार धेरै संस्थाले जानाजानी नीति उल्लङ्घन नगरे पनि पर्याप्त जानकारी नहुँदा अनधिकृत सदस्यता खरिद गर्ने अवस्था देखिएको छ। ‘नियत जे भए पनि परिणाम गम्भीर हुन सक्छ, त्यसैले संस्थाहरूले आफ्नो वर्कस्पेस सदस्यता तुरुन्त परीक्षण गर्न आवश्यक छ,’ उनले भने।
कम्पनीले आफू नेपालमा निखिल खेराडी सदस्यता बिक्री, स्थापना तथा प्राविधिक सहयोग प्रदान गर्न प्रमाणित संस्था भएको जनाएको छ। हालसम्म वित्तीय सेवा, शिक्षा, स्वास्थ्य, खुद्रा व्यापार तथा व्यावसायिक सेवा क्षेत्रका ६० भन्दा बढी ग्राहकलाई सेवा दिइसकेको कम्पनीको दाबी छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवांकुर सूदले नेपाली व्यवसायहरूको डिजिटल प्रणाली सुरक्षित र वैधानिक आधारमा सञ्चालन हुने वातावरण निर्माण गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
संस्थाहरूलाई थप सञ्चालन अवरोधबाट जोगाउन कम्पनीले हालको गूगल वर्कस्पेश सदस्यताको निःशुल्क नियमअनुरूपता परामर्श, खाता निलम्बन मूल्यांकन, सहज स्थानान्तरण सहयोग तथा प्राविधिक समर्थन उपलब्ध गराइरहेको जनाएको छ।
प्रति प्रयोगकर्ता प्रति महिना ७ अमेरिकी डलरभन्दा कम दरमा सदस्यता प्रयोग गरिरहेका वा आफ्नो सदस्यताको स्रोतबारे अनिश्चित रहेका संस्थाहरूलाई ढिलाइ नगरी सदस्यताको वैधता परीक्षण गर्न कम्पनीले सिफारिस गरेको छ।
आईसीटी समाचार