नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइटको प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने भएको छ ।
यसका लागि शनिबार भारतीय विदेश मन्त्रालय र भारतको न्यू स्पेस इन्डिया लिमिटेडबीच आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौतामा भारतीय विदेश मन्त्रालयमा उत्तर डेस्क हेर्ने अनुराग श्रीवास्तव र ‘न्यू स्पेस इन्डिया लिमिटेड’का निर्देशक अय्यनाधर अरुणाचलमले हस्ताक्षर गरेका हुन ।
कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. अभास मास्केको पनि उपस्थिति थियो।
विद्यार्थीले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि नेपालले २०८० पुसमै भारतसँग सम्झौता भएको थियो ।
नेपाली स्याट–१ जस्तै रहेको मुनाल स्याटेलाइट भारतको बेंगलुरूमा प्राविधिक परीक्षण गराइएको थियो। नास्टको सहयोगमा नेपालको सरकारी विद्यालयमा कक्षा १२ मा पढ्ने विद्यार्थीले ‘मुनाल हाइस्कुल स्याटेलाइट’ निर्माण गरेका हुन् । स्याटेलाइटको भारतबाट छिट्टै प्रक्षेपण हुनेछ ।