कीवर्डहरू -

सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री शर्मा

सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल सरकारले आगामी आर्थिक वर्षदेखि सुरु हुने गरी सूचना प्रविधि दशक प्रस्ताव गरेको जानकारी दिंदै मन्त्री शर्माले यसलाई प्रभावकारी रुपमा अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकी छन् । 

सूचना प्रविधि दशकलाई अघि बढाउन हरेक वर्ष गरिने कार्य र कार्यक्षेत्रसहितको गुरुयोजना बनाउन थालिएको बताउँदै उनले छोटो समयमा सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेको भारतको अभ्यास र अनुभवबाट आफूहरुले सिक्न चाहेको बताइन् । 

‘नेपालमा अहिलेसम्म आर्थिक समृद्धिका आधारको रुपमा कृषि, पर्यटन, उर्जा र औद्योगिकको रुपमा लिंदै आएका थियौं’– उनले भनिन– ‘अब यी चार क्षेत्रसँगै सूचना प्रविधि क्षेत्रलाई पनि आर्थिक रुपान्तरणको नयाँ आधारको रुपमा थप गरिएको छ, यो हाम्रा लागि महत्वपूर्ण नीतिगत परिवर्तन हो ।’

पछिल्लो समय राष्ट्रिय साइबर सुरक्षा स्थापना गर्नेदेखि एकीकृत सरकारी डाटा सुरक्षा केन्द्र व्यवस्थित गर्दै लैजाने कार्य अघि बढाएको जानकारी दिंदै यसका लागि जनशक्तिलाई थप प्रशिक्षित गर्ने सवालमा भारतले सहयोग गर्नसक्ने बताइन् । 

यस्तै राजदूत श्रीवास्तवले भारतले डिजिटल सार्वजनिक पूर्वाधार निर्माणको क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै नेपालको सूचना प्रविधिको विकासमा पनि सहयोग र साझेदारी गर्न तयार रहेको बताए ।

 नेपालको सूचना क्षेत्रको विकासका लागि भारतले तीन क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्दै उनले अनुभव आदानप्रदान र तालिम प्रशिक्षण, डिजिटल सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग र सूचना प्रविधिमा स्टार्टप सञ्चालन गरिरहेको भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि जोड्न सक्ने बताए ।  

व्याण्डविथ लगायतका क्षेत्रमा बेलाबेलामा देखिने समस्या पनि समाधान गरेर जानुपर्ने राजदूत श्रीवास्तवको भनाइ छ ।