कीवर्डहरू -

नेपालमा कार्यरत भारतीयले अब क्युआरबाटै भारतको व्यक्तिगत बैंक खातामा पैसा पठाउन सक्ने

नेपालमा कार्यरत भारतीयले अब क्युआरबाटै भारतको व्यक्तिगत बैंक खातामा पैसा पठाउन सक्ने

नेपालमा कार्यरत भारतीयले अब नेपाली बैंक खाताबाट भारतमा खोलिएको आफ्नो व्यक्तिगत खातामा प्रतिमहिना १ लाख भारू जम्मा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत परिपत्र जारी गर्दै अन्तरदेशीय कारोबारलाई सहज बनाएको हो । 

नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ (इ–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रेस्पोन्स कोडमार्फत् राष्ट्रिय भुक्तानी स्वीच सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीचको माध्यमबाट कारोबार गर्न पाउने छन् । 

रिटेल पेमेन्ट स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन १५ हजार भारु र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकबापत् सटही सुविधा उपलब्ध हुनेछ ।

भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्युआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत भारत र भुटानमा भुक्तानी (मर्चेन्ट पेमेन्ट) हुने गरी समेत उपलब्ध गराउन सकिनेछ । 

यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीच(RPS) को माध्यमबाट प्रदान गर्नु पर्नेछ । 

यस्तै नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीच  पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीच(RPS) को माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम (Personal Payment/P-to-P Transfers) भित्र्याउनु पर्नेछ ।

यस्तो विप्रेषण रकम विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका प्रचलित कानूनबमोजिम यस बैंकबाट बैंकिङ्ग कारोबार गर्न इजाजतपत्रप्राप्त वित्तीय संस्था र यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकसँग सञ्चालन रहेको खाता/वालेटमा जम्मा हुने गरी समेत प्राप्त गर्न सकिनेछ । तर, यस्तो वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत नेपाली रुपैयाँमा मात्र रकम प्राप्त गर्न सक्नेछन् ।

नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा विक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी (मर्चेन्ट पेमेन्ट) विदेशमा जारी भएको भुक्तानीका उपकरणबाट क्युआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत समेत स्वीकार गर्न सकिनेछ । 

यस्तो कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीचको माध्यमबाट स्वीकार गर्नु पर्नेछ । यस्तो कारोबारको भुक्तानी विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका प्रचलित कानुनबमोजिम यस बैंकबाट बैंकिङ्ग कारोबार गर्न इजाजतपत्रप्राप्त वित्तीय संस्था र यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकको खाता/वालेटमा समेत प्राप्त गर्न सकिनेछ । 

तर, यस्तो वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत परिवर्त्य विदेशी मुद्रा प्राप्त नगरी नेपाली रुपैयाँ मात्र प्राप्त गर्न सक्नेछन् ।

यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोका निराकरण/न्यूनीकरणका उपायहरु सम्बन्धित बैंक-वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक आफैले विश्लेषण तथा व्यवस्थापन गर्नु पर्नेछ ।