इन्डोनेसियाले १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अष्ट्रेलियापछि यस्तो कडा नीति लागू गर्ने अर्को देशका रूपमा इन्डोनेसिया अघि बढेको हो।
इन्डोनेसियाकी सञ्चार तथा डिजिटल मामिला मन्त्री मेउत्या हाफिदले सरकारले जारी गर्न लागेको नयाँ नियमअनुसार ‘उच्च जोखिम’ का रूपमा वर्गीकृत सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका खाताहरू हटाउनुपर्ने जानकारी दिएकी छन्। उक्त व्यवस्था आगामी मार्च २८ देखि चरणबद्ध रूपमा लागू गरिने बताइएको छ।
प्रारम्भिक चरणमा प्रमुख प्लेटफर्महरू जस्तै युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, रोबलक्स तथा लाइभ–स्ट्रिमिङ प्लेटफर्म बिगो लाइभमा यो नियम लागू गरिनेछ। यी प्लेटफर्महरूले इन्डोनेसिया भित्र रहेका १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको खाता हटाउनुपर्नेछ।
मन्त्री हाफिदका अनुसार सबै प्लेटफर्महरूले इन्डोनेसिया सरकारले तोकेका अनुपालन (compliance) सम्बन्धी दायित्व पूरा गर्नुपर्नेछ। तर ती दायित्वहरू के–के हुन् भन्नेबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
यस विषयमा प्रतिक्रिया दिँदै मेटाका प्रवक्ताले द न्युरोक टाइम्सलाई दिएको जानकारी अनुसार कम्पनीले इन्डोनेसिया सरकारबाट आधिकारिक नियमावली प्राप्त नगरेको र थप विवरणको प्रतीक्षा गरिरहेको जनाएको छ।
यसअघि अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यापक नीति लागू गरेको थियो। अहिले अन्य देशहरू पनि यस्तै नीति ल्याउने तयारीमा छन्।
हालै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि १६ वर्षमुनिका प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेका छन् भने मलेसियाको मन्त्रिपरिषद्ले पनि यसै प्रकारको प्रतिबन्ध अनुमोदन गरिसकेको छ, जुन सम्भवतः यही वर्ष लागू हुने अपेक्षा गरिएको छ।
बालबालिकाको डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य र अनलाइन जोखिम कम गर्ने उद्देश्यले विश्वका विभिन्न देशहरूले सामाजिक सञ्जाल प्रयोगको उमेर सीमाबारे कडा नीति बनाउन थालेका छन्।
आईसीटी समाचार