विश्वव्यापी मोबिलिटी सेवा प्लेटफर्म इन्ड्राइभले हालै नेपालमा आरामदायक र उच्च गुणस्तरको विकल्पसहित 'इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक गरेको छ ।
इनड्राइभ कम्फर्ट उत्कृष्ट सेवा प्रदान गर्न डिजाइन गरिएको हो, जसमा उच्चस्तरीय सुविधासहितका सवारी साधनहरू छन् । आराम, स्पेस र सुविधासहित यात्रा गर्न चाहनेका लागि कन्फर्ट फिचर उपयोगी भएको कम्पनीले जनाएको छ ।
अब नेपालका यात्रुहरूले इनड्राइभ कम्फर्ट सवारी रोजेर थप आरामदायक र सुविधाजनक यात्राको मजा लिन सक्नेछन् । यो फिचर कस्तो छ ? शल्क कसरी निर्धारण गरिएको छ ? यसको प्रभावकारिता कस्तो छ ? लगायतका विषयमा इनड्राइभका दक्षिण एशिया वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्मकार आईसीटी समाचारका लागि स्नेहा झाले गरेको कुराकानी ।
इन्ड्राइभले हालै इन्ड्राइभ कम्फर्ट फिचर सार्वजनिक गरेको छ । यो कस्तो खालको सुविधा हो ?
इन्ड्राइभ कम्फर्ट एउटा नयाँ प्रकारको यात्रा फिचर हो । यसमा प्रयोगकर्ताले थप आरामदायक अनुभव र उच्च गुणस्तर भएका एसीयुक्त गाडीहरू प्रयोग गर्न सक्छन् । यी गाडीहरूले बढी लेगस्पेस, ठूलो सिट स्थान, र परिवारका चार जना मानिसलाई सहज रूपमा यात्रा गर्न र लगेज समेत बोकेर यात्रा गर्न सहयोग पुर्याउने छ । यस प्रकारका सेवाले प्रयोगकर्ताहरूलाई झन्झटरहित अनुभव प्रदान गर्नेछ ।
हामीले कन्फर्ट फिचर यसअघि अन्य देशहरूमा सार्वजनिक गरिसकेका छौं । अन्य देशमा राम्रो प्रतिक्रिया पाइरहेको इनड्राइभ कम्फर्ट फिचर नेपालमा पनि ल्याउने निर्णय गरेका हौं । नेपालीहरूले पनि हाम्रो सेवा मन पराउनुहुनेछ भन्ने आशा गरेका छौं ।
विशेष गरी, आफ्नो शुल्क आफै निर्णय गर्न, ड्राइभर र गाडी मोडेल छान्न सक्ने सुविधा रहेकाले इन्ड्राइभ लोकप्रिय छ । इनड्राइभमा, हामी हाम्रा ग्राहकहरूको आवश्यकता सम्बोधन गर्ने सवारी विकल्पहरू प्रदान गर्न प्रतिबद्ध छौं । इनड्राइभ कम्फर्टको साथ यात्रुहरूले फराकिलो र आरामदायक सवारीको अनुभव प्राप्त गर्नेछन्, साथै हाम्रा चालक साझेदारहरूले उच्चस्तरीय सेवा प्रदान गर्न थप अवसर पाउनेछन् ।
इनड्राइभ कम्फर्ट अन्तर्गतका सवारी साधनहरू उत्कृष्ट छन्, जसमा वातानुकूलन सुविधा छ । सवारी उच्च गुणस्तरीय छन्, जसले यात्रुलाई सफा, सुगम र रमाइलो यात्रा अनुभव गराउँछ ।
कम्फर्ट प्रिमियम सेवा हो । अन्यको तुलनामा कन्फर्ट सेवाको शुल्क पनि महंगो होला । इन्ड्राइभ कम्फर्टको शुल्क कसरी निर्धारण गर्नु भएको छ ?
इन्ड्राइभ कम्फर्ट प्रिमियम र आरामदायक सेवा हो तर हामीले मूल्यलाई पनि न्यून राख्न प्रयास गरेका छौं । यो सेवा यात्रुका लागि उचित हुनुका साथै ड्राइभर पार्टनरका लागि पनि लाभदायक होस् भन्ने सुनिश्चित गरेका छौं ।
शुल्क यति उचित बनाइएको छ कि सामान्य मानिसले पनि प्रिमियम यात्रा अनुभव लिन सक्ने छन् । इनड्राइभले न्यायसंगत र पारदर्शी मूल्यलाई सधैं प्राथमिकता दिइरहेको छ । यात्रुहरूले अब थप फराकिलो स्थान, उच्च गुणस्तरीय सवारी र अतिरिक्त सुविधाहरूको साथ प्रिमियम यात्राको अनुभूति किफायती मूल्यमा लिन सक्नेछन् ।
नेपालमा क्याब सेवा भन्दा मोटरसाइकल राइड बढी लोकप्रिय छ । कम्फर्ट सेवाको नेपालमा सम्भावना कस्तो देख्नुहुन्छ ?
धेरै मानिसहरू कलेज, अफिस वा अन्य व्यक्तिगत कामका लागि मोटरसाइकल राइड रोज्ने गर्छन् । तर, परिवारका सदस्यहरूसँग बिहे, समारोह वा एयरपोर्ट जानुपर्दा एसीसहितका गाडीहरू प्रयोग गर्न आवश्यक पर्छ ।
एकल वा साथीहरूसँग यात्रा गरिरहेकाहरूका लागि पर्याप्त ठाउँ हुने हुँदा इनड्राइभ कम्फर्ट उत्कृष्ट विकल्प हो । यस्तै, गर्मी महिनाहरूमा पनि आरामदायक यात्रा गर्न एसी राइडको माग बढ्छ । यसैले, हामीले इन्ड्राइभ कम्फर्ट सेवा ल्याएका हौं ।
इन्ड्राइभले किन विद्युतीय गाडी (ईभी) मा बढी ध्यान दिइरहेको छ ?
इन्ड्राइभ कम्फर्ट अन्तर्गत धेरै ईभी गाडीहरू समावेश गरिरहेका छौं, तर हाम्रो सेवामा ईभी मात्र नभई अन्य उत्कृष्ट गुणस्तरका गाडीहरू पनि छन् । ईभी हरित वातावरणका लागि दिगो समाधान हो, त्यसैले हामी यसमा जोड दिइरहेका छौं । साथै, कम्फर्ट क्लासमा सेडान क्लासका गाडीहरू उपलब्ध छन्, जसले अझै बढी सुविधा दिन्छ ।
हामीले चालक र यात्रु दुवैलाई आफ्नो यात्रा चयन गर्ने स्वतन्त्रता दिएको छौं । तपाईं १० मिनेट कुर्न तयार हुनुहुन्छ भने विद्युतीय सवारी रोज्न सक्नुहुन्छ र अरु साधारण सवारी मात्र २ मिनेटमा आइपुग्छन् । मूल्यमा पनि कुनै वृद्धि हुँदैन् ।
इन्ड्राइभले यात्रुहरूको सुरक्षालाई कसरी सुनिश्चित गरेको छ ?
हामीसँग चौबिसै घण्टा कस्टमर सपोर्ट, इमेल सपोर्ट र सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने सुविधा उपलब्ध छ । यात्रुहरूले आफ्नो राइड लाइभ ट्र्याक गर्न र परिवारलाई सेयर गर्न सक्नुहुन्छ । साथै, यात्रुहरूले ड्राइभरको रेटिङ हेरेर आफूलाई उपयुक्त र सुरक्षित राइड छनोट गर्न सक्छन् ।
आगामी योजनाहरू के के छन् ?
हामीले यात्रु र ड्राइभरहरूको सुरक्षाका लागि बीमा योजना विकास गर्ने, ड्राइभरहरूको मुद्दा समाधान गर्न केन्द्र खोल्ने (ड्राइभर सेन्टर) र ड्राइभरहरूको प्रोत्साहनका लागि नयाँ अभियानहरू ल्याउने योजना बनाइरहेका छौं । साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न पहलहरू गर्ने सोचाइमा पनि छौं ।