कीवर्डहरू -

इनड्राइभद्वारा ‘काठमाडौँ क्लिन एयर डायलग’ आयोजना

इनड्राइभद्वारा ‘काठमाडौँ क्लिन एयर डायलग’ आयोजना

इन्ड्राइभले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि “काठमाडौँ क्लिन एयर डायलोग” आयोजना गरेको छ। कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञ, अनुसन्धान संस्था, नागरिक समाज तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई एउटै मंचमा ल्याउँदै समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरूबारे व्यापक छलफल गरिएको थियो।

संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अग्रसर हुनु रहेको आयोजकहरूले बताएका छन्। सहभागीहरूले काठमाडौँको वर्तमान वायु गुणस्तर अवस्था, प्रमुख प्रदूषण स्रोत—यातायात, उद्योग, निर्माण गतिविधि तथा घरेलु इन्धन प्रयोग—का साथै विद्यमान नीतिहरूको प्रभावकारिता र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन विचार–विमर्श गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वन तथा वातावरण मन्त्री माधव चौँलागाईले सम्बोधन गर्दै सरकारले हालसम्म गरेका पहलहरूको समीक्षा गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याए।

उनले विभिन्न सरोकारवालालाई एउटै मंचमा ल्याउने पहलको प्रशंसा गर्दै स्वच्छ हावा सुनिश्चित गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको बताए। काठमाडौँको वायु प्रदूषण समस्या बहुआयामिक रहेको उल्लेख गर्दै विज्ञहरूले बायोमास तथा घरेलु इन्धन प्रयोग, तीव्र सवारी चाप, औद्योगिक विस्तार र भौगोलिक अवस्थाका कारण जाडो याममा बढ्ने प्रदूषणलाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन्। विश्वसनीय तथ्याङ्क, पारदर्शी अनुगमन प्रणाली र स्थानीय स्वामित्वमा आधारित दिगो समाधान विकास गर्नुपर्नेमा जोड दिइएको छ।

संवादले “नेपाल ताजा” पहलको सुरुवात बिन्दुलाई पनि चिन्हित गरेको छ, जुन Almaty Air Initiative (एएआई) को ‘ब्रेन, भ्वाइस, ब्रिज’ ढाँचाबाट प्रेरित छ। यस ढाँचाअनुसार डाटा–आधारित प्रणाली विकास, वैज्ञानिक प्रमाणलाई सार्वजनिक चेतनामा रूपान्तरण, र त्यसलाई दिगो नीति तथा कानुनी सुधारसँग जोड्ने लक्ष्य राखिएको छ।

एएआईकी सीईओ जुलदिज साउलेबेकोभाले विश्वसनीय तथ्याङ्क, सचेत नागरिक सहभागिता र सरकारसँगको सहकार्यमा आधारित स्थानीय प्रणालीमार्फत मात्र दीर्घकालीन सुधार सम्भव हुने बताउनुभयो। समग्रमा, “काठमाडौँ क्लिन एयर डायलोग” ले स्वच्छ हावा, स्वस्थ नागरिक र दिगो शहरी भविष्यतर्फ अन्तर–क्षेत्रीय सहकार्यको महत्वपूर्ण प्रारम्भिक कदमका रूपमा स्पष्ट सन्देश दिएको छ।