राइड शेयरिङ सेवा प्रदायक इनड्राइभ नेपालले आफ्नो प्लाटिनम ड्राइभर्स गिभअवे अभियान अन्तर्गतका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ। अभियानमा देशभरका चालकहरूले उल्लेखनीय सहभागीता जनाएका थिए ।
कम्पनीका अनुसार अभियान चालक साझेदारको प्रतिबद्धता, पेशागत आचरण र सेवा गुणस्तरलाई आधार मानेर सञ्चालन गरिएको थियो। तीन चरणका चुनौतीमा उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर प्लाटिनम श्रेणी कायम राखेका चालकहरूबाट दुई जनाले ग्र्याण्ड पुरस्कार हात पारेका छन्।
क्याब चालक श्रेणीमा हरि पाण्डेले विद्युत् ट्याक्सी प्राप्त गरेका छन् भने मोटरसाइकल चालक श्रेणीमा आकाश तामाङले मोटरसाइकल पुरस्कार जितेका छन्।
विजेताको नाम सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारणमार्फत घोषणा गरिएको थियो। ग्राण्ड पुरस्कारबाहेक अभियानमार्फत अन्य धेरै चालक साझेदारहरूलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ। यसअन्तर्गत स्मार्टफोन, इयरबड, र घडी सहितका दर्जनौँ पुरस्कारहरू वितरण गरिएको हो।
इनड्राइभ नेपालकी वरिष्ठ चालक सञ्चालन विशेषज्ञ सुनीता जेनी राईले चालक साझेदारलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीलाई थप सक्षम बनाएको बताइन्। उनका अनुसार चालक समुदायको पेशागत प्रतिबद्धतालाई कदर गर्न र दीर्घकालीन अवसरहरू प्रदान गर्न अभियानले महत्वपूर्ण भूमिका खेलेको छ।
राईले आगामी दिनमा चालकहरूलाई अझ बढी अवसर, पारदर्शिता र सहयोगयुक्त वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै नजिकै हुने पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरिन्।
आईसीटी समाचार