कीवर्डहरू -

इनड्राइभको अरोरा टेक अवार्ड २०२६ आवेदन खुला, नेपालबाट यसरी दिन सकिन्छ

इनड्राइभको अरोरा टेक अवार्ड २०२६ आवेदन खुला, नेपालबाट यसरी दिन सकिन्छ

विश्वव्यापी रूपमा महिला प्रविधि उद्यमीहरूलाई प्रोत्साहन गर्ने प्रतिष्ठित अरोरा टेक अवार्डले आफ्नो २०२६ संस्करणका लागि आवेदन खुला गरेको छ । इनड्राइभद्वारा सन् २०२१ मा स्थापना गरिएको अरोरा टेक अवार्डले प्रविधि र सामाजिक प्रभावलाई जोड्दै भविष्य निर्माण गरिरहेका महिला संस्थापकहरूलाई वित्तीय सहयोग, मार्गदर्शन र अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउने उद्देश्य राखेको छ ।

अरोरा टेक अवार्डको नेपाल साझेदारको रूपमा लिभिङ विथ आइसिटी रहेको छ । जसले नेपाली महिला टेक फाउन्डरहरूको पहुँच र समर्थन बढाउन सहयोग पुर्‍याउने आयोजकहरूले जनाएका छन्।

अघिल्लो वर्ष, अरोरा टेक अवार्डले ११६ देशबाट २,०१८ आवेदन पाएर रेकर्ड तोडेको थियो र फाइनलिस्टहरू मध्य पूर्व, ल्याटिन अमेरिका, उत्तर अमेरिका, सेन्ट्रल एशिया र एशिया प्यासिफिक क्षेत्रबाट आएका थिए।

फाइनलिस्टका स्टार्टअपहरू हेल्थटेक, एआई, फिनटेक, एडटेक, एग्रोटेक लगायतका कार्यरत थिए। यस वर्षको १२ अगस्ट २०२५ देखि १२ नोभेम्बर २०२५ सम्म आवेदन खुला हुनेछ र इच्छुक महिला संस्थापकहरूले auroratechaward.com मा आवेदन दिन सक्ने छन्।

अरोरा टेक अवार्डका लागि लागू हुने मुख्य शर्तहरूमा संस्थापक वा सह-स्थापक र नेतृत्वमा महिला हुनु अनिवार्य छ । कम्पनी दर्ता गरिएको म्याद पाँच वर्षभन्दा बढी नहुनुपर्नेछ । स्टार्टअपसँग कार्यरत प्रोटोटाइप, एमभीपी वा प्रारम्भिक ग्राहकहरू हुनुपर्नेछ र स्टार्टअप प्रि–सिड वा सिड चरणमा हुनुपर्नेछ।

साथै कुल लगानीको सीमा सामान्यतया सबै राउण्डसहित पनि ६ मिलियन अमेरिकी डलरभन्दा बढी नभएको अवस्थामा मात्र उपयुक्त मानिनेछ। अरोराको प्रमुख इसाबेला घासेमी स्मीथले अरोरा टेक अवार्ड केवल पुरस्कार मात्रै नभई उदीयमान बजारका साहसी महिला संस्थापकहरूलाई विश्वस्तरको लगानीकर्ता नेटवर्क, ग्लोबल समर्थन र स्केल अपका लागि आवश्यक उपकरण प्रदान गर्ने एउटा स्प्रिङबोर्ड भएको बताइन ।

पुरस्कार प्राप्तिको प्रक्रियागत तालिका अनुसार क्वार्टरफाइनलिस्ट शीर्ष १०० महिला संस्थापकको सूची ८ डिसेम्बर २०२५ मा सार्वजनिक गरिनेछ। त्यसपछि सेमिफाइनलिस्टहरू (शीर्ष ३०) र फाइनलिस्टहरू प्रारम्भिक २०२६ मा घोषणा गरिनेछन्।

फाइनलिस्टहरूका लागि लक्षित मेंटरशिप कार्यक्रम फेब्रुअरी–मार्च २०२६ मा सञ्चालन गरिने र अरोरा टेक अवार्डको मुख्य समारोह मार्च–अप्रिल २०२६ को अवधिमा आयोजना गरिने क्रममा तयारी चलिरहेको छ।

निर्णायक समितिले नवप्रवर्तन, स्केलेबिलिटी र सामाजिक प्रभावका आधारमा फाइनलिस्ट र विजेताहरू छान्नेछन्। विजेताहरूले प्राप्त गर्ने पुरस्कारमा पहिलो स्थानका लागि ५० हजार डलर, दोस्रोका लागि २० हजार डलर र तेस्रोका लागि १५ हजार डलर समावेश छ।