काठमाडौं । बागमती प्रदेशअन्तर्गतका उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयबाट प्रदान हुँदै आएको उद्योगसम्बन्धी सेवा अब क्रमश: अनलाइन प्रणालीमा जोडिने भएको छ । उद्योग दर्ता, नवीकरणलगायतका कामलाई सहज बनाउन प्रदेशका सबै जिल्लामा अनलाइन सेवा लागू गर्न लागिएको हो ।
उद्योग दर्ता तथा नवीकरणको अनलाइन सेवाबारे जानकारी दिन चितवनको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरेको थियो । कार्यालयका अनुसार मंगलबारदेखि बागमती प्रदेशका सबै जिल्लामा अनलाइन सेवा अनिवार्य रूपमा लागू हुनेछ । मकवानपुरमा भने यो सेवा असारदेखि नै परीक्षणका रूपमा सञ्चालन हुँदै आएको छ ।
कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार अनलाइन प्रणालीमार्फत उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, नाम तथा उद्देश्य परिवर्तन, पुँजी वृद्धि, खारेजी, उद्योगको स्तर तथा वर्ग परिवर्तन र कानुनी स्वरूप परिवर्तनलगायतका काम गर्न सकिनेछ ।
उनका अनुसार तत्काल उद्योग दर्ताको सेवा सहज रूपमा सञ्चालनमा आएको छ । नवीकरणतर्फ भने पुराना विवरणलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने काम भइरहेकाले पूर्ण रूपमा सेवा सञ्चालन हुन केही समय लाग्नेछ ।
चितवनको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयमा हाल करिब १७ हजार उद्योग दर्ता छन् । तीमध्ये नियमित रूपमा नवीकरण हुने उद्योगको संख्या करिब १२ हजार रहेको कार्यालयले जनाएको छ । पुराना उद्योगका फाइल तथा विवरणलाई डिजिटल प्रणालीमा प्रविष्ट गर्न समय लाग्ने भएकाले चरणबद्ध रूपमा नवीकरण सेवा अनलाइनमा जोडिनेछ ।
कार्यालय प्रमुख पौडेलका अनुसार तत्काल नवीकरण गर्नुपर्ने तथा चालु महिनाभित्र नवीकरण गर्नुपर्ने उद्योगको विवरण प्राथमिकताका साथ डिजिटल प्रणालीमा राखिँदैछ । असोजभित्र नवीकरण गर्नुपर्ने करिब ८० प्रतिशत फाइल एक साताभित्र डिजिटल बनाउने लक्ष्य कार्यालयले लिएको छ ।
सेवाग्राहीले कार्यालयमै आएर उपलब्ध कम्प्युटरमार्फत पनि अनलाइन फाराम भर्न सक्ने व्यवस्था गरिएको छ । अनलाइन प्रणाली प्रयोग गर्न नजान्ने सेवाग्राहीलाई सहजीकरण गर्न चार जना कर्मचारी समेत परिचालन गरिने पौडेलले जानकारी दिए ।
भरतपुर महानगरपालिका ६ का अनिस श्रेष्ठले ‘फ्रोजन मोमो’ उत्पादन गर्ने उद्योग दर्ताका लागि कार्यालय पुगेका बेला अनलाइन सेवा सुरु भएको जानकारी पाएपछि कार्यालयमै रहेको कम्प्युटरबाट आवेदन भरे । उनका अनुसार मोबाइल तथा कम्प्युटर चलाउन अभ्यस्त व्यक्तिका लागि अनलाइन आवेदन प्रक्रिया सहज छ ।
यद्यपि वाणिज्य फर्मको दर्ता तथा नवीकरणका लागि भने हाल कार्यालयमै उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । अनलाइन प्रणाली लागू भएपछि उद्योग दर्ता तथा सम्बन्धित प्रशासनिक कामका लागि सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता कम हुने तथा सेवा प्रवाह थप छिटो र व्यवस्थित हुने कार्यालयको अपेक्षा छ ।
आईसीटी समाचार