पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विस्तार हुँदै गएको छ। संघीय राजधानी काठमाडौं उपत्यकासँगै बुटवल, धरान, जनकपुरजस्ता प्रादेशिक शहरदेखि ग्रामीण क्षेत्रसम्म आईटी कम्पनी, स्टार्टअप र नवप्रवर्तन केन्द्रहरू स्थापना भइरहेका छन्। युवा पुस्ताको आकर्षण प्रविधि क्षेत्रमा बढ्दै गएको छ भने विदेशी लगानीकर्ताहरू पनि नेपाली आईटी उद्योगप्रति आकर्षित हुन थालेका छन्।
सफ्टवेयर निर्यातदेखि पर्यटन प्रवर्द्धनसम्म प्रविधिलाई उपकरण बनाएर नेपाली युवाहरूले आफ्नो सीप र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गरिरहेका छन्। सस्तो, भरपर्दो र प्रतिस्पर्धी जनशक्तिका कारण नेपाल आईटी हब बन्ने दिशामा अघि बढिरहेको देखिए पनि संरचनागत कमजोरी, पुराना कानुनी संरचना, नीतिगत अस्पष्टता र संस्थागत समन्वयको अभावले यसको पूर्ण सम्भावना अझै उपयोग हुन सकेको छैन।
यही यथार्थलाई केन्द्रमा राख्दै क्यान महासंघ (CAN Federation) का वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा विशेषज्ञ चिरन्जीवी अधिकारीले ‘सूचना प्रविधि घर–दैलो यात्रा’ अभियानको औपचारिक सुरुवात गरेका छन्। आफ्नै जन्मदिनको अवसरमा सार्वजनिक गरिएको यो अभियानलाई व्यक्तिगत पहल मात्र नभई समग्र आईटी क्षेत्रसँग जोडिएको नीतिगत आन्दोलनका रूपमा लिइएको छ।
नीति, कानुन र संरचनागत कमजोरी
नेपाल सरकारले २०७६ सालमा ‘डिजिटल नेपाल फ्रेमवर्क’ सार्वजनिक गर्दै डिजिटल पूर्वाधार, ई–गभर्नेन्स, नवप्रवर्तन र डिजिटल अर्थतन्त्र विकासको प्रतिबद्धता जनाएको थियो। तर मन्त्रालय र सरकारी निकायबीच समन्वयको अभाव, स्पष्ट कार्ययोजना नहुनु र पुराना कानुनी संरचनाका कारण डिजिटल नेपालको कार्यान्वयन कमजोर बनेको छ।
नेपालको आईटी क्षेत्र अझै पनि ‘विद्युतीय कारोबार ऐन, २०६३’ मा आधारित छ, जुन आजको कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, ब्लकचेन, बिग डाटा र इन्टरनेट अफ थिङ्स (IoT) जस्ता प्रविधिका लागि अपर्याप्त ठहरिँदै आएको छ।
डाटा संरक्षण, गोपनीयता र एल्गोरिदमिक उत्तरदायित्वजस्ता विषय कानुनमा स्पष्ट नहुँदा विदेशी लगानीकर्ता अन्योलमा परेका छन् भने स्थानीय स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको छ।
अधिकारीका अनुसार, “डिजिटल नेपाल केवल घोषणापत्रमा सीमित हुनु हुँदैन। यसको कार्यान्वयन आईटी क्षेत्रका वास्तविक समस्यासँग जोडिनुपर्छ। घर–दैलो यात्रामार्फत ती समस्या प्रत्यक्ष नीतिनिर्मातासम्म पुर्याउने हाम्रो उद्देश्य हो।”
स्टार्टअप, साइबर सुरक्षा र डिजिटल प्रतिबद्धता
अभियानअन्तर्गत कम्तीमा १०० वटा सूचना प्रविधि कम्पनी र स्टार्टअपको स्थलगत अध्ययन गरिनेछ। लगानीको अभाव, कर संरचना, विदेशी भुक्तानी, बौद्धिक सम्पत्ति अधिकार र सरकारी प्रक्रियाका जटिलता जस्ता विषय प्रत्यक्ष दस्तावेजीकरण गरिने योजना छ।
डिजिटल युगमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले अभियानमा यसलाई विशेष प्राथमिकता दिइएको छ। बैंकिङ प्रणाली, ऊर्जा, दूरसञ्चार र सरकारी सूचना प्रणालीमाथि हुने सम्भावित साइबर आक्रमणलाई मध्यनजर गर्दै राष्ट्रिय साइबर सुरक्षा नीति, सर्ट सुदृढीकरण र जनशक्ति विकासबारे ठोस सिफारिसहरू तयार गरिनेछ।
आगामी २०२६ निर्वाचनलाई ध्यानमा राख्दै अभियानले राजनीतिक दलहरूलाई आफ्नो चुनावी घोषणापत्रमा डिजिटल अर्थतन्त्र, प्रविधिमा आधारित रोजगारी, साइबर सुरक्षा र डिजिटल साक्षरतालाई प्राथमिकतामा राख्न दबाब दिनेछ। घर–दैलो यात्राबाट संकलित सुझावका आधारमा राष्ट्रिय सूचना प्रविधि घोषणापत्र तयार गरी सरकार र शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ।
नीति सुधार, संरचनागत लगानी र राजनीतिक इच्छाशक्ति बिना डिजिटल नेपालको सपना साकार नहुने यथार्थबीच ‘सूचना प्रविधि घर–दैलो यात्रा’ अभियानलाई आईटी क्षेत्रका समस्या समाधानतर्फको निर्णायक पहलका रूपमा हेरिएको छ। डिजिटल नेपालको यात्रामा यो अभियान एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास गरिएको छ।
आईसीटी समाचार