पछिल्लो समय धेरै इन्स्टाग्राम प्रयोगकर्ताले अचानक पासवर्ड रिसेट गर्न आग्रह गर्ने इमेलहरू प्राप्त गरेपछि साइबर सुरक्षालाई लिएर चिन्ता बढेको छ। एन्टिभाइरस सफ्टवेयर कम्पनी मालवेयरबाइट्सले सुरुमा १ करोड ७५ लाख (१७.५ मिलियन) इन्स्टाग्राम प्रयोगकर्ताको संवेदनशील जानकारी लिक भएको दाबी गरेको थियो।
मालवेयरबाइट्सका अनुसार उक्त लिकमा इन्स्टाग्राम प्रयोगकर्ताको युजरनेम, भौतिक ठेगाना, फोन नम्बर, इमेल ठेगाना लगायतका संवेदनशील विवरणहरू समावेश छन्। कम्पनीले यो डेटा डार्क वेबमा बिक्रीका लागि उपलब्ध रहेको र साइबर अपराधीहरूले दुरुपयोग गर्न सक्ने चेतावनी दिएको छ।
तर इन्स्टाग्रामले भने कुनै पनि डेटा ब्रिच नभएको स्पष्ट पारेको छ। इन्स्टाग्रामले सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै प्रयोगकर्ताका अकाउन्ट सुरक्षित रहेको जनाएको छ।
‘हामीले एउटा यस्तो समस्या समाधान गरेका छौँ, जसले बाह्य पक्षलाई केही प्रयोगकर्ताका लागि पासवर्ड रिसेट इमेल अनुरोध गर्न अनुमति दिएको थियो। हाम्रो प्रणालीमा कुनै पनि डेटा ब्रिच भएको छैन र तपाईंका इन्स्टाग्राम अकाउन्टहरू सुरक्षित छन्,’ इन्स्टाग्रामले भनेको छ। साथै, हाल आएका पासवर्ड रिसेट इमेलहरू बेवास्ता गर्न प्रयोगकर्तालाई आग्रह गर्दै भ्रम सिर्जना भएकोमा माफी पनि मागिएको छ।
मालवेयरबाइट्सले भने नियमित डार्क वेब स्क्यानका क्रममा उक्त डेटा फेला परेको दाबी गर्दै यो घटना सन् २०२४ मा इन्स्टाग्रामको एपीआई एक्सपोजरसँग सम्बन्धित हुन सक्ने जनाएको छ। कम्पनीका अनुसार लिक भएको भनिएको जानकारीको प्रयोग गरेर फिसिङ आक्रमण, अकाउन्ट हाइज्याकजस्ता गम्भीर साइबर आक्रमण हुनसक्ने जोखिम छ।
यस घटनापछि धेरै प्रयोगकर्ताले एकैपटक धेरैवटा पासवर्ड रिसेट इमेल प्राप्त गरेका छन्। इन्स्टाग्रामले यसलाई डेटा ब्रिच नभई प्राविधिक त्रुटि मात्र भएको दाबी गरे पनि यसको मूल कम्पनी मेटा विगतमा विभिन्न डेटा ब्रिच घटनाका कारण आलोचनामा पर्दै आएको छ।
साइबर सुरक्षा विज्ञहरूले प्रयोगकर्तालाई सावधानी अपनाउन सुझाव दिएका छन्। यदि अहिलेसम्म सक्रिय नगरेको भए टु–फ्याक्टर अथेन्टिकेसन (2FA) अनिवार्य रूपमा चालु गर्न, पासवर्ड परिवर्तन गर्न तथा मेटा अकाउन्ट्स सेन्टरमार्फत कुन–कुन डिभाइसबाट अकाउन्ट लग–इन भएको छ भन्ने विवरण जाँच गर्न सिफारिस गरिएको छ।
आईसीटी समाचार