एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि इन्स्टाग्रामले आफ्नो नयाँ भिडियो एडिटिङ एप 'एडिट्स' सार्वजनिक गरेको छ । अब यसबाट तपाईं सजिलै आफ्ना भिडियोलाई सम्पादन (एडिट) गर्न सक्नुहुनेछ ।
यस वर्षको सुरुवातमा कम्पनीले यो एप पहिले आईओएस प्रयोगकर्ताहरू का लागि प्री–अर्डर खुला गरेको थियो । अहिले यो एप एप स्टोर र गूगल प्ले स्टोर दुवैमा निःशुल्क डाउनलोड गर्न उपलब्ध भएको छ ।
एडिट्स इन्स्टाग्रामले ल्याएको एक डेडिकेटेड भिडियो एडिटिङ एप हो, जसले तपाईंलाई आफ्नो मोबाइल डिभाइसबाटै उच्च गुणस्तरको भिडियो बनाउन सहयोग पुर्याउँछ । यसको मुख्य उद्देश्य एप परिवर्तन नगरी सम्पूर्ण भिडियो निर्माण प्रक्रिया सजिलो बनाउने हो ।
कम्पनीले भिडियो बनाउन आवश्यक सबै कुरा यस एपमा राख्ने प्रयास गरेको छ । तपाईं आफ्नो प्रोजेक्ट म्यानेज गर्न सक्नुहुन्छ । भिडियो थप्न सक्नुहुन्छ र वाटरमार्क बिना एक्सपोर्ट गर्न सक्नुहुन्छ । यसमा तपाईंलाई उत्तम गुणस्तरको क्यामेरा, फ्रेम–एक्युरेट टाइमलाइन, कटआउट र एआई एनिमेशन जस्ता रमाइला इफेक्टहरू पनि उपलब्ध छन् ।
इन्स्टाग्रामले यस एप विकास गर्ने क्रममा कन्टेन्ट क्रिएटर्ससँग सहकार्य गरेको थियो । प्रारम्भिक पहुँच प्राप्त गरेका ती क्रिएटर्सले प्रयोगपछि महत्वपूर्ण सुझाव र प्रतिक्रिया दिएर एपलाई अझ प्रभावकारी बनाउन मद्दत गरेका थिए ।
कसरी प्रयोग गर्ने?
गूगल प्ले स्टोर वा एप स्टोरबाट एडिट्स बाई इन्स्टाग्राम डाउनलोड गर्नुहोस् ।
त्यसपछि आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत साइन–इन गर्नुहोस् ।
एपमा दिइएको अनस्क्रिन निर्देशनहरू पालना गर्नुहोस् ।
तपाईंले अहिले चर्चामा रहेका ट्रेन्डिङ रीलहरूबाट सिधै अडियो लिएर भिडियो एडिटिङ सुरु गर्न सक्नुहुन्छ ।
तपाईंको पहिले पोस्ट गरिएका सबै भिडियोहरू पनि यहाँ देख्न सकिनेछ ।