कीवर्डहरू -

नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू

नेपाल क्लियरिङ्ग हाउस र नेप्सबीच एकीकृत कारोबार सुरू

सोमबारदेखि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) बीच एकीकृत कारोबार सुरू भएको छ । 

सोमबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितीमा नेपाल क्लियरिङ्ग हाउसले नेप्सलाई प्राप्ति गरी एकीकृत कारोबार शुभारम्भ गरेको थियो । 

२०८१ वैशाख १३ गते बसेको दुई कम्पनीहरुको विशेष साधारण सभाले एनसीएचएलसँग नेप्स एकीकरणका लागि स्वीकृति दिएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार भएको हो । 

एनसीएचएलले नेप्सलाई २८ रुपैयाँमा खरिद गरेको हो । एकीकृत कारोबारपश्चात् कम्पनीको नाम नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) कायम रहेको छ भने सञ्चालक समिति र व्यवस्थापन टिम पनि एनसीएचएलको यथावत रहेको छ ।

नेप्सलाई प्राप्तिपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १ अर्ब ४५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । मर्जरपछि कम्पनीमा कर्मचारीको संख्या १३२ जना, प्रडक्ट ९ वटा, सदस्य बैंक तथा वित्तीय संस्था ५३ वटा, अन्य सदस्य १ सय बढी पुगेका छन् ।