कीवर्डहरू -

एनसीएचएलको इएफटी कार्ड सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया

एनसीएचएलको इएफटी कार्ड सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले इएफटी कार्ड सर्भिसका सदस्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा इएफटी कार्ड सेवाको सञ्चालन, सेवा विस्तार, नयाँ पहल तथा सदस्य संस्थाबाट प्राप्त सुझाव र प्रतिक्रियाका विषयमा छलफल गरिएको एनसीएचएलले जनाएको छ ।

अन्तरक्रियाका क्रममा कार्ड भुक्तानीको सुरक्षा, प्रविधिमा भइरहेको विकास तथा सेवा सञ्चालनका क्रममा देखिएका आवश्यकताका विषयमा सदस्य बैंक तथा वित्तीय संस्थाले आफ्ना अनुभव र सुझाव आदानप्रदान गरेका थिए ।

एनसीएचएलका अनुसार इएफटी कार्ड सेवा विस्तारका क्रममा थप दुई वाणिज्य बैंक र पाँच वित्त कम्पनी नयाँ सदस्यका रूपमा आबद्ध भएका छन् । नयाँ सदस्य थपिएसँगै इएफटी कार्ड स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ ।

त्यस्तै, ६ वटा बैंक तथा वित्तीय संस्थाले ई–कमर्स पेमेन्ट गेटवे सेवा र १४ वटा बैंक तथा वित्तीय संस्थाले थ्रीडी सेक्योर थ्रीडीएस सेवा प्रयोग गर्दै आएका छन् ।

एनसीएचएलका अनुसार इएफटी कार्ड सर्भिस बैंक तथा वित्तीय संस्थाका लागि उपलब्ध गराइएको केन्द्रीय स्वीचिङ समाधान हो । यसमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कका कारोबार प्रोसेसिङ, कार्ड इस्युइङ तथा एक्वायरिङ गर्न सकिन्छ ।

हाल इएफटीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाले भिसा र एनपीसीआई कार्ड इस्यु गर्न सक्ने व्यवस्था छ । त्यस्तै, भिसा, मास्टरकार्ड, युनियनपे, डिनर्स क्लब, डिस्कभर, रुपे, जेसीबी र एनपीसीआईलगायत आठ प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कका कार्ड कारोबार एक्वायरिङ गर्ने सुविधा उपलब्ध रहेको एनसीएचएलले जनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कार्डमार्फत करिब १२ करोड ९० लाख कारोबार भएका थिए । ती कारोबारको कुल मूल्य १० खर्ब १९ अर्ब रुपैयाँ बराबर रहेको थियो । सो अवधिमा १ करोड ४३ लाख ३० हजार कार्ड प्रचलनमा रहेका थिए ।

त्यसैगरी, इएफटीमार्फत ३ करोड २० लाख कारोबार भएका थिए, जसको कुल मूल्य २ खर्ब ५५ अर्ब रुपैयाँ बराबर थियो । इएफटीमार्फत कारोबार हुने कार्डको संख्या ३४ लाख ४० हजार रहेको एनसीएचएलले जनाएको छ । गत आर्थिक वर्षमा इएफटीले नेपाली कार्ड बजारको करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो ।

एनसीएचएलले ई-कमर्स पेमेन्ट गेटवे र थ्रीडी सेक्योर थ्रीडीएस सेवामार्फत अनलाइन कार्ड कारोबारलाई सुरक्षित र सहज बनाउन सहयोग गर्दै आएको जनाएको छ । ई-कमर्स पेमेन्ट गेटवेमा हाल ६ वटा सदस्य बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने ११५ भन्दा बढी मर्चेन्ट जोडिएका छन् ।

नेपालको भुक्तानी पूर्वाधारलाई थप सुदृढ गर्ने उद्देश्यअनुसार एनसीएचएलले एनपीसीआई कार्डलाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाएको जनाएको छ । इएफटी कार्ड स्वीचलाई राष्ट्रिय भुक्तानी प्रणालीसँग एकीकृत गरी सहभागी बैंक तथा वित्तीय संस्थालाई एनपीसीआई कार्ड इस्यु तथा एक्वायरिङ गर्ने सुविधा उपलब्ध गराइएको छ ।

एनसीएचएलले आगामी दिनमा बैंक तथा वित्तीय संस्था, इकोसिस्टम साझेदार र अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँगको सहकार्यलाई निरन्तरता दिँदै कार्ड भुक्तानीसम्बन्धी क्षमता विस्तार, अन्तरआवद्धता सुदृढीकरण तथा सुरक्षित र नवीनतम भुक्तानी समाधानको प्रवद्र्धनमा जोड दिने जनाएको छ ।