काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (NIMBUZZ) सँग सहकार्य गरेको छ । सम्झौतासँगै NIMBUZZ का अन्तर्राष्ट्रिय eSIM र International Driving Permit (IDP) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको छ ।
यो सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय डेटा eSIM प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) का लागि आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यो सुविधा विशेष गरी विदेश यात्रा गर्ने, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका तथा व्यवसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने नेपालीका लागि उपयोगी हुनेछ ।
बैंकले eSIM सेवामार्फत विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्नुपर्ने वा सिम परिवर्तन गर्नुपर्ने झन्झट हट्ने जनाएको छ । यसबाट ग्राहकहरूले सहज रूपमा इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । त्यस्तै, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने विश्वास बैंकको छ ।
यस सेवाको अर्को विशेषता भनेको ग्राहकहरूले eSIM तथा IDP सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने व्यवस्था हो । यसले अन्तर्राष्ट्रिय सेवाका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रियालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस सहकार्यले ग्राहकको समय, लागत र श्रम बचत गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरका डिजिटल सेवामा स्वदेशबाटै पहुँच विस्तार गर्न मद्दत पुग्नेछ । साथै ग्रामीण, अर्धशहरी र शहरी क्षेत्रका ग्राहकहरूलाई समान रूपमा आधुनिक डिजिटल सेवामा पहुँच पुर्याउँदै डिजिटल समावेशीकरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम र ४० शाखारहित बैंकिङ सेवा केन्द्र मार्फत लाखौँ ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै ग्राहकको बदलिँदो आवश्यकताअनुसार नवीन डिजिटल सेवाहरू थप गर्दै जाने जनाएको छ ।
आईसीटी समाचार