कीवर्डहरू -

मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ: मन्त्री शर्मा

मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्छ: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छन् ।

मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गर्दै उनले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र डिजिटलाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताइन् ।

नेपाल दूरसन्चार प्राधिकरणको ग्रामीण दूरसन्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा  अप्टिकल बिछ्याइएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो । यो महामार्गको सहप्रयोगबाट जुनसुकै इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउने छन् ।

मन्त्री शर्माले यो आयोजना मध्यपहाडी लोकमार्गको सबै खण्डमा विस्तार गरिने जानकारी पनि दिइन । माओवादी सरकारमा आएपछि सुरु भएको मध्यपहाडी लोकमार्ग  गणतन्त्र नेपालको उपहार भएको उल्लेख गर्दै मन्त्री शर्माले मध्यपहाडी राजमार्गलाइ लक्षित गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको यो सूचना महामार्गले मध्यपहाडी राजमार्ग परियोजनालाई पूर्णता दिंदै मध्यपहाडी क्षेत्रका बासिन्दालाई दूरसञ्चारको मूल प्रवाहमा जोड्ने सरकारले विश्वास लिएको बताइन ।
 
सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिदै उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएको उल्लेख गरिन । यसमा पनि अझ अप्टिकल फाइवरमा आधारित फाइवर टु द होम सेवा विस्तारलाई जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले यो वर्षमा मात्रै सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा सेवा विस्तार गरेर (एफटिटिएच पुुगेका जिल्लाको संख्या ७३ पुर्याएको जानकारी दिइन ।

नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवा ७३९ स्थानीय तहमा पुर्याइएको र देशको कूल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको जानकारी दिदै उनले यसलाई शत प्रतिशत क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको बताइन ।

सेवा विस्तारसँगै सेवा गुणस्तर कायम गर्नु अर्को अनिवार्य शर्त भएको औल्याउँदै उनले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन । 

मन्त्री शर्माले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुलाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नका लागि १९ जिल्लालाई छनौट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको र यो नमूना जिल्ला कार्यक्रमले ती जिल्ला मात्र होइन, आसपासका जिल्लाहरुमा पनि सेवा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

उनले दूरसञ्चार क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन नीति र प्रशासनिक दुुबै खालका काम अघि बढाइएको र नयाँ फ्रिक्वेन्सी नीति २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी अघि बढाइएको जानकारी दिइन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल दूरसञ्चार कम्पनीका अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षता भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललगायतले आफ्नो मन्तव्य दिएका थिए ।