एप्पलले लामो प्रतीक्षा गरिएको नयाँ सफ्टवेयर आईओएस २६ को बेटा भर्सन सार्वजनिक गरेको छ। यो संस्करण अहिलेबाटै उपयुक्त आईफोन प्रयोगकर्ताहरूले सेटिङमा गएर जनरलमा गई सफ्टवेयर अपडेटमा गएर डाउनलोड गर्न सकिने छ ।
यस पटकको अपडेटले आईओएस ७ पछि अहिलेसम्मकै ठूलो भिजुअल परिवर्तन ल्याएको छ। नयाँ ‘Liquid Glass’ डिजाइनले पारदर्शी र गहिराइयुक्त प्रभाव दिनेछ, जसले स्क्रिनका वस्तुहरूअनुसार रंग र दृश्यलाई परिवर्तन गर्ने सुविधा दिन्छ।
नयाँ संस्करणमा एप्पल इन्टेलिजेन्स विस्तार गर्दै विभिन्न एआई सुविधा थपिएको छ। म्यासेजेज, फेस टाइम र आईफोनमा प्रत्यक्ष अनुवाद गर्ने सुविधा आएको छ भने भिजुअल इन्टेलिजेन्स अब क्यामेरा मात्र नभई स्क्रिनशटमा पनि उपलब्ध हुनेछ ।
साथै, जेनमोजी र इमेज प्लेटग्राउण्ड अघिल्लो भन्दा अझै प्राकृतिक देखिने भएका छन्। एप्पल म्युजिकमा समेत एआईमा आधारित अटोमिक्स सुविधा थपिएको छ, जसले गीतबीच डीजे जस्तै ट्रान्जिसन सिर्जना गर्नेछ।
सञ्चार एपहरूमा पनि महत्वपूर्ण सुधार गरिएको छ। नयाँ कल स्क्रिनिङले कल उठाउनु अघि कल गर्नेबारे जानकारी दिनेछ भने होल्ड एसिस्टले लामो प्रतिक्षामा सुन्नुपर्ने संगीतबाट छुटकारा दिलाउनेछ। म्यासेजेज एपमा कस्टम ब्याकग्राउन्ड र पोल जस्ता नयाँ सुविधा थपिएका छन् भने फोन एप अझै सफा र एकीकृत इन्टरफेससहित आएको छ।