कीवर्डहरू -

आयरल्यान्डले सामाजिक सञ्जालमा उमेर प्रमाणीकरणका लागि डिजिटल वालेट परीक्षण गर्दै

आयरल्यान्डले सामाजिक सञ्जालमा उमेर प्रमाणीकरणका लागि डिजिटल वालेट परीक्षण गर्दै

आयरल्यान्ड सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँचका लागि प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्न मिल्ने सुविधा समावेश गरिएको आफ्नो गभर्नमेन्ट डिजिटल वालेट परीक्षण गरिरहेको छ।

आयरल्यान्डको डिपार्टमेन्ट अफ पब्लिक एक्सपेन्डिचर, इन्फ्रास्ट्रक्चर, पब्लिक सर्भिस रिफर्म एन्ड डिजिटाइजेसन ले जारी गरेको विज्ञप्तिअनुसार, प्रयोगकर्ताले यस डिजिटल वालेटमा आफ्नो जन्म प्रमाणपत्र, ड्राइभिङ लाइसेन्स, युरोपेली स्वास्थ्य कार्डलगायत कागजातहरूको डिजिटल संस्करण सुरक्षित रूपमा भण्डारण गर्न सक्नेछन्।

विभागका मन्त्री फ्राङ्क फेघानले यो परीक्षण चरणले डिजिटल वालेटको विकासलाई मार्गदर्शन गर्न र यसलाई प्रयोगकर्ता–मैत्री बनाउन मद्दत गर्ने बताए। सरकारले अझै परीक्षण चरणपछि यो वालेट कहिले सार्वजनिक हुन्छ भन्ने मिति तोकेको छैन। तर, युरोपेली संघको नियमअनुसार आयरल्यान्डले सन् २०२६ को अन्त्यसम्म डिजिटल वालेट तयार गर्नुपर्नेछ।

फेघानका अनुसार, आयरल्यान्डको यो डिजिटल वालेटले ‘डिजिटल आयरल्यान्ड’ मा उल्लेख गरिएको सुरक्षित उमेर प्रमाणीकरण क्षमता र ‘अनलाइन सेफ्टी कोड’ को कार्यान्वयनलाई सहज बनाउनेछ। उक्त कोडअन्तर्गत तोकिएका प्लेटफर्महरूले विशेष गरी बालबालिका र युवा व्यक्तिहरूलाई अनलाइन हानिबाट जोगाउन उमेर प्रमाणीकरणका उपायहरू लागू गर्नुपर्नेछ।

पाइलट चरण स्वेच्छिक आधारमा सञ्चालन गरिनेछ। सरकारले यसबारे टिप्पणी र सुझावका लागि छोटो सर्वेक्षण पनि उपलब्ध गराएको छ। आयरल्यान्डसँगै युरोपेली संघका अन्य सदस्य राष्ट्रहरू पनि आफ्नै उमेर प्रमाणीकरण विधिहरू विकास गर्ने क्रममा छन्। यस वर्षको सुरूमै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले १६ वर्षमुनिका व्यक्तिहरूका लागि सामाजिक सञ्जाल पहुँच रोक्ने कानूनको घोषणा गरेका थिए।