फ्लाइटमा पावर बैंक लैजानु अब पहिलेजस्तो सजिलो छैन् । विश्वभरका एयरलाइन्सहरूले अहिले पावर बैंकहरूलाई लिएर कडा नियमहरू लागू गरिरहेका छन् वा केही अवस्थामा त यसलाई पूर्ण रूपमा प्रतिबन्ध पनि लगाइरहेका छन् ।
पहिले यी साना ब्याट्री प्याकहरू मोबाइल वा ल्यापटप चार्ज गर्न ट्राभलको समयमा अत्यन्तै आवश्यक मानिन्थे, तर अहिले यसलाई सम्भावित आगलागीको जोखिमको रूपमा हेरिन थालिएको छ ।पावर बैंकको लिथियम–आयन ब्याट्री कहिलेकाहीं बिग्रन सक्छ, जसले ओभरहिट, आगो लाग्ने वा विस्फोट हुने खतरा निम्त्याउन सक्छ ।
हालका केही वर्षमा यस्ता घटनाहरू देखिएका छन्, जहाँ बिग्रिएको वा क्षतिग्रस्त ब्याट्रीको कारण फ्लाइटका क्रममा धुवाँ निस्किएको वा आगो लागेको थियो, जसले गर्दा आपतकालीन अवतरण समेत गर्नुपरेको थियो । यस्ता घटनाहरू धेरै सामान्य त होइनन्, तर जब हुन्छन्, निकै खतरनाक हुन सक्छन्, किनभने विमानको केबिन बन्द र उच्च–दबाबयुक्त वातावरण हुन्छ, जहाँ आपतकालीन प्रतिक्रिया दिन सीमितता हुन्छ ।
इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आईएटीए) र अन्य धेरै एभिएसन प्राधिकरणहरूले अब यो जोखिमलाई ध्यानमा राख्दै गाइडलाइन्स जारी गरेका छन् । यी नियमहरूमा पावर बैंकको क्षमता सीमित गर्ने, केवल ह्याण्ड ब्यागमा लैजान पाउने, र फ्लाइटको समयमा प्रयोगमा प्रतिबन्ध लगाउने कुरा समावेश छन् ।
केही प्रमुख एयरलाइन्सहरूले यी नियमहरू पहिल्यै अद्यावधिक गरिसकेका छन् । उदाहरणका लागि, कान्टास एयरलाइनले यात्रुहरूलाई भनिसकेको छ कि पावर बैंक केवल क्याबिन ब्यागमा राख्नुपर्छ र फ्लाइटको क्रममा प्रयोग नगर्नुहोस् । एमिरेट्स एयरलाइनले पनि विमानभित्र पावर बैंकको प्रयोग र चार्जिंगमा प्रतिबन्ध लगाइसकेको छ । सिंगापोर एयरलाइन्स र क्यादे प्यासिफिक जस्ता एयरलाइन्सहरूले पनि यस्तै नियमहरू लागू गरेका छन् ।
पावर बैंकसम्बन्धी सामान्य नियमहरू
यदि पावर बैंकको क्षमता १०० डब्लु एच (वाट–आवर) भन्दा कम छ भने अनुमति बिना नै क्यारी–अन ब्यागमा लैजान सकिन्छ ।
१०० देखि १६० डब्लु एचसम्मको ब्याट्री एयरलाइन्सको अनुमति लिएर मात्र लैजान पाइन्छ ।
१६० डब्लु एचभन्दा बढी क्षमता भएका ब्याट्रीहरू पूर्ण रूपमा प्रतिबन्धित छन् ।
ब्याट्रीको क्षमता पत्ता लगाउने सूत्रः
Wh = (mAh × V) ÷ 1000
यात्रुहरूले यो सुनिश्चित गर्नुपर्छ कि ब्याट्रीको जानकारी स्पष्ट रूपमा डिभाइसमा लेखिएको होस्, नत्र एयरपोर्ट सुरक्षाले यसलाई जफत गर्न सक्छ ।
यी कुराहरू याद राख्नुहोस्
✔ पावर बैंकलाई सधैं ह्याण्ड क्यारी ब्यागमै राख्नुहोस्, चेक–इन ब्यागमा कहिल्यै नराख्नुहोस् ।
✔ फ्लाइटमा ओभरहेड बिनमा नराखी, आफ्नो सिटको नजिक राख्नुहोस् ताकि आपतकालीन अवस्थामा सजिलै निकाल्न सकियोस् ।
✔ केही एयरलाइन्सले सिटमा भएको पावर आउटलेटबाट चार्ज गर्न पनि रोक लगाउँछन्, किनभने यसले तातो बढ्ने र फल्टको खतरा निम्त्याउन सक्छ ।
यदि तपाईं पावर बैंकसहित यात्रा गर्दै हुनुहुन्छ भने यी कुराहरूको ध्यान राख्नुहोस्
- एयरलाइन्सको वेबसाइटमा गएर सम्बन्धित नीति पढ्नुहोस्।
- पावर बैंक राम्रो अवस्थामा राख्नुहोस् – फुलेको, टुटेको वा क्षतिग्रस्त नभएको हुनुपर्छ ।
- ब्याट्रीको क्षमता सुनिश्चित गर्नुहोस् र केवल ह्याण्ड ब्यागमै राख्नुहोस्।
- एयरलाइन्सले अनुमति नदिएसम्म उडानको क्रममा चार्ज नगर्नुहोस् ।